म नारीवादी होइन
मेरो भन्नु यत्ति नै छ
कि जब म तिमीहरू भएको
कुनै बसमा सवार हुन्छु, तब
तिमी, त्यो "महिला आरक्षण” लेखिएको सिटबाट
उठिदेऊ, र मलाई बस्न देऊ, दया गर!
म नारीवादी होइन
त्यो बगिरहेको रगत लिएर
म कतिञ्जेल उभिनसक्छु?
"दाइ के म यहाँ बस्नसक्छु?" भन्दा
"यस्ता नारीहरू समानताका कुरा गर्छन्"
भन्दै नहाँसिदेऊ।
तिमी जस्तो बाह्रै महिना, तीसै दिन
म तङ्ग्रिन सक्दिनँ। अनि,
रजस्वलाको पीडा तिमीलाई महसुस
गराउन पनि सक्दिनँ।
म नारीवादी होइन
मेरो भन्नु यत्ति नै छ
जब म आफ्नै एकान्त खोजी
हिँडिरहेकी हुन्छु,
तब, तिम्रा आँखाहरूले मेरो बलात्कार नगरिदेऊ।
पुतलीलाई झैँ खेलाउन नखोज,
छुन नखोज।
म नारीवादी होइन
मेरा सबै अङ्ग-भङ्ग गरी
गिद्धे ब्यवहार नदेखाइदेऊ,
मेरो बेइज्जत नगरिदेउ,
"अँ, यस्ती पो केटी" भन्दै,
मेरो आत्मसम्मानमाथि ठेस नपुर्याइदेऊ।
म तिमीलाई त्यो शरम र रिस;
महसुस गराउन सक्दिनँ ।
म नारीवादी होइन
मेरो भन्नु यत्ति नै छ
जब म आफ्नो सबै नित्यकर्म सकेर,
तिम्रो सम्पूर्ण परिवारलाई तृप्त बनाएर
तिमी समक्ष आउँछु,
तब मलाई "नालायक बेकार कि" भनी
नहोच्याइदेऊ, अपमान नगरिदेऊ।
म नारीवादी होइन
मैले भावना पोखेका पानाहरू नच्यातिदेऊ,
मेरो कलम नफ्यालिदेऊ,
मेरो भावना नलतारिदेऊ।
जसरी तिम्रा हरेक मर्म
मैले बुझेकी हुन्छु,
त्यसरी मेरा पनि हरेक पीडा
महसुस तिमीले गरिदेऊ।
म नारीबादी होइन!!!