सम्पादकको नजर राम्रैसँग परे लेख नछापिन सक्छ। मनमा लागेको कुरा मनमा मात्रै राख्नुभन्दा लेखे धेरैसम्म पुग्छ। छलफल हुन्छ भन्ने आशय हो।
प्रतिगमनकारी, यथास्थितिवादी बुर्जुवा लगायतका पगरी गुथ्न नडराई सत्य कुरा भन्न आँट गर्ने हो भने देशका आम मानिसले कथित परिवर्तनबाट केहि फाईदा लिन सकेका छैनन्। गणतन्त्र आएको ६ वर्ष पुरा हुनै लाग्दा हामीले त्यसपछि के पायौं भनी लेखाजोखा गर्ने हो भने फ्याट्ट भन्ने उत्तर हामी धेरैसँग छैन। गोलमटोलमा केहि कुरा गरेर प्रश्नकर्ता अल्मल्याउन सक्छौं बुँदागत उत्तर दिएर हैन।
गणतन्त्र आएपछि देशमा भएका परिवर्तनलाई बुँदागत रुपमा भन्ने हो भने त्यसले केही काम अवश्य गरेको छ। परिवर्तनहरु आम जीवनमा जोडिएकी जोडिएनन् भनेर भन्ने हो भने उत्तर नकरात्मक आँउछ नै। यसो भन्दा पश्चगामी भईन्छ। विसौलीको जिब्रो फड्काल्नुभन्दा धार्नीको टाउको हल्लाउनु बेश!
गणतन्त्रले राजमार्गलाई लोकमार्ग बनायो। बाटाको खाल्डाखुल्डी पुरेन। स्तर सुधार गरेन। यसले तराईलाई मधेस बनायो। त्यहाँको असमानता घटाएन। विभेद अन्त्य गरेन।
इतिहास सहि कि गलत हो। एकले आवेगमा आएर गर्न मिल्ने निर्णय थिएन। हामीले गणतन्त्रका नाममा देशका अमूल्य कलाकृतिहरुलाई धुलोमा मिसाँयौं। भित्तामा केही थान पात्राहरु फेरीन नपाँउदै हामीले त्यसलाई पुर्ननिर्माण पनि गर्यौ। हामी मक्खै छौं। यस्तै यस्तै कामका लागि। भोलि नयाँ पुस्ताले यिनै कामहरुको उपादेयताका बारेमा गरेको प्रश्नमा हामीले आजैदेखी तयार गरेर राखेपनि चित्तबुझ्दो उत्तर हुनेछैन।
इतिहास लेख्नेले गलत लेखेका हैनन भने आफूले जितेको राज्यमा मानिएको कुमारी प्रथालाई शाहबंशले स्वीकार गरेर दाम राख्यो। काठमाण्डौमा चलेका रितिरिवाज मास्न लागेन। आफ्नो धर्मसँग मिल्ने मात्रै हैन फरक आस्था राख्नेहरुलाई पनि स्थान दियो।
राज्य बलियो हुनैपर्छ। निरिह राज्यले नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन। न त आत्मसम्मान प्रदान गर्न सक्छ। बर्दिका सुरक्षाकर्मीप्रति गणतन्त्र भन्दा अघि नागरिक अलि परै बस्थ्यो। गणतन्त्रपछि बर्दिमा खटिएका सुरक्षाकर्मीलाई गाला चड्काउने हैन हत्या नै गर्न सक्ने आँट पलाएको छ नागरिकमा। नारायणहिटी दरवार हटाईयो त्यसका ठाँउ रित्त छ कि भरियो सामान्य राजनीति बुझ्नेहरुलाई व्याख्या गर्न पर्दैन।
राजधानीमा रहेका बखत एक पुराना पत्रकारले सञ्चालन गर्ने रेडियो कार्यक्रम सुन्दै थिए। बारामा जन्मिएका मधेसी मुलका एक नागरिकसँगको अन्तवार्ता थियो। जो वारामा नेपालको पहिलो निर्वाचनको उपनिर्वाचनमा संसद चुनिएका थिए। जुम्लामा गएर विमानस्थल निर्माण गरेका थिए। उनले नेपालमा गरेका कामहरुका बारेमा चाहिनेजत्ति चर्चा भएन किनभने उनले सबैका लागि काम गरेका थिए। अहिले त कविलातन्त्रतर्फ समाज गईरहेको छ। यस्तो समयमा उनको मृत्यु पनि गुमनाम भएर गयो।
सबैको मत लिएर प्रतिनिधी चुनिएपछि एक वर्गको मात्रै हुँ भन्दै हिड्नु गर्वको विषय भएपछि समाजमा भाँडभैलो मच्चिन्छ नै। पक्कै पनि आफुले प्रतिनिधित्व गरेको समुदायप्रति सबैको सहानुभुती रहन्छ। अलि अगाडी पुगेपछि सबैको हुँ भन्ने भावना भने विकास हुन सकेको छैन। सुसुप्त अवस्थामा रहेको या प्रवृत्ति गणतन्त्र आएपछि मौलाएको छ। यसलाई मौलाउनुपर्छ भन्नेमा अलिक वौद्धिक वर्ग नै लागिपरेपछि भन्न बाँकी नै के रह्यो र?
हामीले महान ठानेका कामहरुको दीर्घकालिकता कतीसम्म हो। एकान्तमा बसेर सोच्नैपर्ने बेला आईसकेको छ। हामीले आफ्ना ठानेका महान एजेण्डाहरु समाजमा कसरी छिर्छन भन्ने कुरा कनकमणी काण्डले छर्लङ्ग पारीसकेको छ। हामी बुझ पचाँउछौं भने त्यो भीन्नै कुरा हो।
पक्कै पनि हामीलाई विकास चाहिएको छ। विकास कसरी गर्न सकिन्छ भन्नेमा फरक फरक मत हुन सक्छन। सबै पक्ष एकै थलोमा रहनुपर्छ र देश विकासमा लाग्नुपर्छ। अहिलेको आवश्यकता यत्ती नै हो। हामीलाई मिठा र अकल्पनीय कल्पनाहरु चाहिएको छ। नेताले भाषणमा त्यस्तै कुरा गर्छन। हामीले औला ठड्याउँदैनौ। त्यसो गर्न हामीलाई कसैले अराउनुपर्छ। सिकाउनुपर्छ। हात समाईदिनुपर्छ।
चौपाया वस्तुका बथान र मानिस मात्रै हिड्ने बाटाका लागि हाम्रा अग्रजहरु ३ मिटरको बाटो छोडेर दुबैतिर १ मिटर अग्लो पक्कि पर्खाल बनाँउथे। हामी ४ पाङग्रे गाडी गुड्ने बाटो २ मिटर भए पुग्छ भन्ने विश्वास गर्छौ। नेपालमा गणतन्त्र आउनु सहि थियो कि गलत थियो। भोलीले बताउने छ नै। हामीले अव गर्ने काम भने दीर्घकाल सोचेर गरौं। पछिल्लो पुस्ताले सोधेको जवाफ दिनसक्ने गरेर!