म यस कारण महिलावादी भएँ


‘महिलावादी’ शब्द प्रयोगकर्तामा असुरक्षाको भावना लुकेको हुन्छ भन्ने मैले ठानेको थिएँ। किनकि, यसो गर्दा प्रयोगकर्ता महिलाले म पुरुषको दाँजोमा बराबर छु भनेर तर्क गर्नुपर्ने भयो। म पुरुषजत्तिकै चलाख वा साहसी छु भनेर कराउनुपर्ने भयो। मलाई लाग्थ्यो, तपाईं पुरुष जत्तिकै सक्षम भइदिएको भए त्यो कुरा तपाईंले बारम्बार भनिरहन आवश्यकै पर्दैन। त्यसैले ‘महिलावादी’ शब्दमै असुरक्षाको गन्ध आउँछ भन्ने मलाई लाग्थ्यो।

म स्वीडिस महिला थिएँ। चेकोस्लोभाकियाबाट मेरो परिवार स्वीडेन बसाइ सरेको थियो। त्यहाँको स्कुलमा भर्ती हुँदा मेरो उमेर ९ वर्षको थियो।

एउटा स्कुले केटोले मलाई आप्रवासी भएकै कारण धम्क्यायो। मेरी सानी केटी साथीलाई असह्य भएछ। उसले त्यो केटोको मुखमै मुक्का बजारी। उसको बहादुरीले मलाई प्रभावित गर्यो। कक्षाका अरु साथीले के भन्लान् भनेर मैले वरिपरि आँखा डुलाएँ। तर, कसैले त्यो घटनालाई वास्ता गरेन। स्वीडेन आएपछि म पुरुषजत्तिकै शक्तिशाली भएकी छु भनेर बुझ्न मलाई लामो समय लागेन।

मैले छाडेर आएको देश चेकोस्लोभाकियाको अवस्था फरक थियो। महिला घन्टौं लामो कामपछि थकित भएर साँझ घर फर्कन्थे। तै उनीहरुको कामको बोझ घटेको हुँदैनथ्यो। खाना बनाउने, सरसफाइ गर्ने, श्रीमानको सेवा गर्ने लगायत सारा काम बाँकी नै हुन्थ्यो। यसको बदलामा श्रीमानले फुर्क्याउने, बेवास्ता गर्ने र कहिलेकाहीँ घरपालुवा जन्तुलाई जस्तो दुर्व्यवहारसमेत गर्थे। त्यही भएर त्यहाँका महिला मानसिक रुपले असन्तुलित घरपालुवा जन्तुजस्तै हुने गर्थे। सही व्यवहार नगर्दा दुहुना गाई उत्तेजित र अनियन्त्रित भएजस्तै।

स्वीडेनको परिस्थिति फरक थियो। घरायसी काम महिला र पुरुषले बराबर बाँड्नुपर्थ्यो। चेकोस्लोभाकियाको संस्कृतिमा हुर्किएका मेरा बुबाले समेत स्वीडेन आएको केही वर्षपछि घर सफा गर्ने, खाना पकाउनेजस्ता काम गर्न थाल्नुभयो। कस्तो अचम्म!

तर जादु नै भयो भन्ने नठान्नु होला! किनकि, मेरा बुबा र आमाबीच सम्बन्ध विच्छेद भएको थियो र बुबाले स्वीडिस महिलासँग नयाँ विवाह गर्नुभएको थियो। त्यसैले उहाँलाई घरको काम नगरी धरै भएन।

स्वीडेनमा हाम्रो पुस्ता हुर्कंदै गयो। माध्यमिक तहमा पुगेपछि विद्यालयका केटाहरु हामीलाई स्पर्स र चुम्बन गर्न मरिहत्ते गर्थे। केटीहरु दयालु महारानीजस्ता थिए। मनलागे केटाहरुलाई ‘कृपा’ गरिदिन्थे। केटाहरु जति पछि लागे हामी आफूलाई उत्तिकै शक्तिशाली ठान्थ्यौं। कुनै केटीले कुनै केटालाई ‘कृपा’ गरिदिए त्यो केटालाई उसका साथीहरु इर्ष्याले हेर्थे। सबैतिर उसको चर्चा हुन्थ्यो।

स्कुलका नर्सले कुनै सोधपुछ नगरिकनै विद्यार्थीलाई कन्डम दिन्थे। त्यसमा डर वा सरम मान्नुपर्दैनथ्यो। स्कुलमा पढाइने यौन शिक्षाका कारण हामी यौनरोग वा गर्भधारणका जोखिमबारे जानकार थियौं। यौन शिक्षाले मुख्यत: आफ्ना यौनांगसँग खेलेर लिइने मनोरञ्जनस्ता क्रियाकलापबारे हामीलाई जानकारी गराएको थियो। कुनै केटीले आफ्नो यौनिकताको स्वामित्व लिनु भनेको आफ्नो शारीरिक र आफैंलाई स्वामित्वमा लिनु हो।

समाजमा पुरुषले गर्ने जुनसुकै काम गर्न स्वीडिस महिला स्वतन्त्र थिए। अझ बच्चा जन्माउने वा नजन्माउने भनेर रोज्ने स्वतन्त्रता महिलामा थियो। यसले हामीलाई पुरुषभन्दा बढी शक्तिशाली बनाएको थियो। ’महिलावाद’ भन्ने शब्द त अर्थ गुमाएको महत्वहीनजस्तो महशुस हुन्थ्यो। स्वीडेनमा त्यसको उपयोगिता नै थिएन।

जब १५ वर्षको उमेरमा म मोडेलका रुपमा कम गर्न पेरिस गएँ, त्यहाँको अवस्था फरक थियो। पेरिसका पुरुषले गर्ने व्यवहारले मलाई आश्चर्यमा पार्यो। उनीहरुले मेरा लागि ढोका खुला गरे। मेरो डिनरको पैसासमेत तिर्न इच्छुक हुन्थे। मलाई लाग्थ्यो उनीहरु मलाई अत्यन्त कोमल वा आफ्नो देखभालसमेत गर्न नसक्ने मूर्ख ठान्थे। अरुका निम्ति म प्रशंसाको होइन, दयाको पात्र हुँ भन्ने मलाई महशुस भयो। त्यतिबेला स्वीडेनमा मैले जे सिकेको थिएँ, त्यसैअनुरुप मैले आफ्नो सामर्थ्य प्रस्तुत गरेँ। आफ्नो यौन चाहनालाई सहज ढंगले प्रस्तुत गरेँ।

फ्रेन्च पुरुषमाझ त्यस्तो प्रस्तुति प्रभावकारी भएन। पेरिसको डिस्कोमा मैले आकर्षक अनजान पुरुषलाई आँखा लगाएँ र नाच्दै उसको नजिक गएँ। त्यसको अर्थ मैले उसलाई रोजेँ भन्ने सन्देश दिनु हुन्थ्यो। तर, त्यस्तो कदमबाट फ्रेन्च पुरुषहरु अक्सर तर्सन्थे र भाग्थे। नभाग्नेहरु भने प्रश्न सोध्थे, ‘तिम्रो दाम कति हो?’

यसो भन्दा फ्रेन्च महिला कमजोर हुन्छन् भन्ने होइन। उनीहरुसँग शक्ति थियो, तर त्यो शक्ति गोप्य ढंगले लुकाएको धारिलो चक्कुजस्तो थियो। त्यो चालबाजीमा आधारित थियो। आकर्षक महिलाले आफूले भनेको काम तुरन्तै पूरा गर्न पुरुषहरुलाई लोभ्याउँथे।

महिलावादका सवालमा अमेरिका नपुगेसम्म मेरो विचारमा खासै परिवर्तन भएन। जब म १८ वर्ष पुगेँ, अमेरिका गएँ र एक अमेरिकी पुरुषसँग प्रेममा परेँ, त्यसपछि मेरो दृष्टिमा परिवर्तन आयो। मेरा सांस्कृतिक धारणा पुनर्निर्माण गर्नुपर्ने भयो।

अमेरिकामा अधिकांश मानिसले यौनलाई सहज, स्वास्थ्य वा आदानप्रदानको विषयका रुपमा लिएको मैले पाइनँ। उनीहरु यौनको विषयलाई गोप्य मान्थे। कुराकानीका क्रममा मैले आफ्ना यौनांगसँग खेल्ने विषय प्रवेश गराउँदा मानिस लाजले भुतुक्क हुन्थे। चरमोत्कर्षका बारेमा कुरा गर्दा पुरुष अश्लिल टिप्पणी गर्थे, महिला चुपचाप हुन्थे। कुन निजी र कुन सरमको विषय हो भन्नेमा अमेरिकीहरुले प्रस्ट लक्ष्मणरेखा कोरेका थिए।

एक स्त्रीरोग विशेषज्ञले मेरो कोखको परीक्षण गर्दैगर्दा मौसमका विषयमा कुरा गर्न थालिन्। ‘भिक्टोरियन’ महिलालाई आफ्ना यौनांगका बारेमा जान्न बन्देज भएजस्तै। शरीरका गुप्त अंगका बारेमा महिलाले जानकारी नराखेको राम्रो भन्ने किसिमको उनले सन्देश दिन खोजेजस्तो थियो।

अमेरिकामा नारी शरीर आफ्नोबाहेक अरु सबैका लागि हो। उनको यौनिकता श्रीमानको हो, आफूबारे उनले बनाएका विचार सोसल सर्कलको हो र उनको गर्भाशय सरकारको हो। प्रेमिका हुने, आमा हुने र करिअर बनाउने (पुरुषको तुलनमा थोरै तलब लिएर) मात्र होइन, उनी निरन्तर जवान, पातली र आकर्षक हुनुपर्छ भन्ने पनि त्यहाँ अपेक्षा गरिन्छ।

अमेरिकामा महत्वपूर्ण पुरुषलाई रुचाइन्थ्यो। महत्वपूर्ण महिलाले भने आफूलाई रुचाइने बनाउनुपर्थ्यो। उक्त कुराले मलाई छोयो।

चेक रिपब्लिकमा महिलालाई राम्रा वा नराम्रा विभिन्न जन्तुको उपनाम दिइन्छ। जस्तै, बिराली, बूढी गाई, सुंगुर्नी आदि। स्वीडेनमा महिलाहरु शक्तिको केन्द्रमा हुन्छन्। फ्रान्समा महिला खतरनाक वस्तु हुन् जसले त्रास सिर्जना गर्छन् वा धेरै महत्व पाउँछन्। राम्रो भए पनि नभए पनि महिलालाई ती देशका समाजमा आफ्नो स्थान कहाँ हो भन्ने जानकारी हुन्छ।

अमेरिकाको समाज भने फरक छ। नारीलाई मन लागेका कुनै पनि काम गर्न स्वतन्त्र छन् भनिन्छ। तर, त्यस्तो स्वतन्त्रता उपभोग गर्नेबित्तिकै उनीहरुमाथि नै प्रहार हुन्छ। मेरो नयाँ देशको संस्कृतिमा आफूलाई अभ्यस्त गराउने क्रममा मभित्रको स्वीडिस जोश र सामर्थ्य ओइलाउन थाल्यो। समाजमा समानता, सामर्थ्य र स्वतन्त्रता उपभोग गर्न संघर्षरत असफल महिलासँग म जोडिएँ l पुरानो धुले दराजमा थन्किएको ‘महिलावादी’ शब्द झिकेर त्यसलाई चम्किलो बनाउनुको मसँग अब विकल्प छैन।

मेरो नाम पाउलिना पोरिजकोभा हो, र म एक महिलावादी हुँ।

(पूर्व सुपरमोडल पाउलिना पोरिजकोभा ‘अ मोडल समर’ नामक उपन्यासकी लेखिका हुन्।)

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.