लन्डनको जस्तै आगलागी हाम्रा अपार्टमेन्टमा भयो भने…

लन्डनको २४ तले भवनमा मंगलबार राति भएको अागलागी। तस्बिरः एजेन्सी


मंगलबार राति १ बजे पश्चिम लन्डनको लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावर अपार्टमेन्टमा आगलागी भयो।
अपार्टमेन्टको चौथो तलामा रहेको फ्रिजमा विद्युत सर्ट भई आगलागी भएको र केहीबेरमै आगो पूरै भवनमा फैलिएको प्रारम्भिक रिर्पोट आएको छ।

आगलागी भएको घन्टौं बितिसक्दा पनि आगो निभाउन र भवनमा फसेकाको उद्धार गर्न लन्डनका अग्निनियन्त्रकलाई हम्मेहम्मे परेको छ। ४० वटा अत्याधुनिक दमकल र अग्नि नियन्त्रण तथा उद्धार उपकरणले सुसज्जित तालिम प्राप्त फायर फाइटर परिचालित भए पनि आशातीत सफलता पाउन सकेको देखिदैँन।

लन्डनमा भवन जलिरहेको तस्बिर र भिडियो अनलाइनमा हेर्दा मेरो मन झस्किएको छ, कतै हाम्रोमा पनि यस्तै आगलागी भयो भने के हामी त्यो आगो निभाउन सकौंला?

उपत्यकामा पछिल्लो समय अपार्टमेन्ट बन्ने क्रम बढ्दो छ। २०७२ वैशाख १२ को भूकम्पपछि मानिसहरूमा अग्ला घरप्रति मोह घटेपनि जीवन शैली जस्तै बनिसकेकाले धेरै जना अहिले पनि अपार्टमेन्टमै छन्।

के हामीले बनाएका ती अग्ला भवन आगलागीबाट सुरक्षित छन्? ती भवनमा आगलागी भइहालेमा आगो नियन्त्रण गर्ने र उद्धार गर्ने हाम्रो क्षमता छ? लन्डन आगलागी हेरेर हामी यी दुई प्रश्नको उत्तरमा घोत्लिनु जरुरी छ।

नेपालमा बनेका र बन्ने क्रममा रहेका बहुतले अपार्टमेन्टमा नियमानुसारको अग्नि नियन्त्रण तथा उद्धारको लागि आवश्यक पर्ने औैजार उपकरणको व्यवस्था सन्तोषजनक देखिदँैन। कतिपयले त्यस्ता औजार र उपकरण राखेकै छैनन। राखेकाहरूले पनि झारा टार्न राखेका जस्तो देखिन्छ।

लन्डन आगलागीको सन्र्दभमा पनि सञ्चारमाध्यमहरूले उक्त भवनबारे अघिल्लो वर्षदेखि नै उठेको समस्याको उचित व्यवस्थापन नगरेका कारण अहिलको अवस्था आएको जनाएका छन्।

अग्ला अपार्टमेन्टमा आगलागी भइहाल्यो भने निभाउनका लागि पानीको व्यवस्था हुनुपर्छ। यो अन्तर्राष्ट्रिय मापदन्ड नै हो। हरेक अपार्टमेन्टले जमीनमा आगलागी हुँदा काम लाग्ने पानी ट्यांकी बनाएर राखेको हुनुपर्छ। त्यो पानी हरेक तलामा तान्ने सक्ने व्यवस्था पनि गरेको हुनुपर्छ।

आगलागी भइसकेपछि भवनको बिजुली सट गर्नु पर्ने भएकाले पानी तान्नका लागि छुट्टै डिजेल पम्प तयारी हालतमा हुनुपर्छ।

अपार्टमेन्टसम्म दमकल पुग्ने बाटो हुनुपर्छ। बाटोमात्र भएर पुग्दैन अग्लो ठाउँमा आगो नियन्त्रण गर्न चाहिने ठाउँ पनि हुनुपर्छ। दमकल राख्ने, फायर फाइटर जाने, पाइप लैजाने गर्नुपर्ने भएकाले वरिपरि तार हुनु हुँदैन।

हाम्रो सन्दर्भमा यस्ता कुरा मापदन्डमा त छन् तर धेरै अपार्टमेन्टले कार्यान्वयन गरेका छैनन्।

अग्ला भवनमा आगलागी भइहालेमा त्यसलाई तत्काल निभाउने उपकरण र जनशक्ति त हामीसँग छँदै छैन भन्दा पनि हुन्छ।
अहिले जुद्ध वारुण यन्त्र काठमाडौंसँग अग्नि नियन्त्रण तथा उद्धारका लागि ३० मिटर क्षमताको टावर ल्याडर छ, जसले बढीमा १० तलासम्मका अग्ला भवनमा पानी पुर्याई अग्नि नियन्त्रण तथा उद्धार कार्य गर्नसक्छ। यस्तो ल्याडर पनि एक मात्र भएको हँुदा त्यो बिग्रेमा विकल्प हामीसँग छैन।

लन्डन आगलागी निभाउन २०० जना अग्नि नियन्त्रक खटाइएका छन्। त्यस्तै आगलागी हाम्रोमा भयो भने हामीले खटाउन सक्ने अग्नि नियन्त्रक भनेको २७ जना हो। तीमध्ये सबै तालिमप्राप्त र दक्ष छैनन। काम गर्दागर्दै सिकेका धेरै छन्।

लन्डनमा भएको जस्तो आगलागी हाम्रा अपार्टमेन्टमा पनि हुनसक्छ यसतर्फ सम्बन्धीत निकायले बेलैमा ध्यान दिनुपर्छ। किनकी विपद व्यवस्थापनको पूर्वशर्त भनेको पूर्व तयारी हो। तयारी बिना कुनै पनि विपद्लाई प्रभावकारी व्यवस्थापन गर्न सकिँदैन।

आगलागी हुन नदिन के गर्ने र भई हालेमा कसरी बच्ने भन्ने जनचेतनाको पनि हामीमा कमी छ।

अपार्टमेन्टमा एउटै भवनमा धेरै मानिस बस्ने भएकाले एउटाले गल्ती गर्दा अरू निर्दोषले पनि आगलागीको पीडा व्यर्होनु पर्ने हुन्छ। अपार्टमेन्टमा बस्ने सबैलाई आगलागीको बारेमा तथा उक्त भवनमा जडान भएका अग्नि नियन्त्रणका साधन सञ्चालन÷प्रयोग बारे अभ्यस्त गराउनु पर्छ।

आगलागी भई हालेमा उद्धारको लागि आपतकालिन उद्धार योजना बनाई आगलागी भएमा कसरी सुरक्षित किसिमबाट धुँवा र आगोबाट बचेर भाग्ने भन्ने कुरा सिकाई यसको नियमित अभ्यास ड्रिल गराउन जरुरी छ।

अपार्टमेन्टको निर्माणको स्वीकृति दिने र लिने दुबै पक्ष गम्भीर हुन जरुरी छ। हामीले बनाउने संरचनामा भोलि आगलागी हँुदा टुलुटुलु हेरी बस्नुपर्ने अवस्था नआवस् भन्ने हो भने भवन संरचनाको उचाई र दमकल कार्यालयको क्षमता तथा साधनबीचको तारतम्य मिलाउने कुरामा सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

आगो मानिसको साथी हो तर यही आगो मानवीय नियन्त्रणभन्दा बाहिर गएमा अकल्पनीय परिणाम निम्त्याउँछ। यसलाई नियन्त्रण गर्न दक्ष जनशक्ति पनि कहिलेकाहीँ असफल हुन्छन्। यसको उदाहरण हो, लन्डन आगलागी।

विपद् शब्द जति सरल छ यसको व्यवस्थापन त्यति नै जटिल छ। विपद् व्यवस्थापनको लागि हामीले अनुभवबाट सिक्ने हो किनकी भोगाइ त अत्यन्तै महंगो र पीडादायी हुन्छ।

(लेखक जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख हुन।)

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.