गुरुङ लोककथाः वोम्लु

नेपाली लोककथा


उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट पैदा भएको, सिप्ता भन्नु चैँ माटोबाट उत्पत्ति भएको मान्छे। माटोभन्दा ढुङ्गाको उमेर बलियो, सिप्ताको आयु साप्ताको भन्दा कम हुन्थ्यो। मरेको मान्छे, जिम्दो मान्छे र देव–देवीहरुबीच कुराकानी, मेलापर्म पनि सँगै गर्ने गर्थे। त्यसउता, रान्जान सिप्ता र ज्वाइँ ग्योलङ पर्पाती साप्ता शिकार खेल्न जान्थे। ज्वाइँ नमरेको, ससुरा मरेको, छोरी नमरेको तर उस्ताउस्तै।

सधैँझैँ एक दिन ज्वाइँ–ससुरा शिकारमेलोमा लागे। शिकार खोजाइ–खेदाइ थाल्नु पैले, उनीहरुले धूप सल्काई चोखो रक्सी ‘छ्योत्–थस्’ गरेर ‘सुक्र्येम’ अनुष्ठान सकाए, अनि शिकार खोजमा कस्सिए। प्रायः ज्वाइँभन्दा सात–नौ पाइला ससुरा नै अघिअघि हिँड्थे। बाटाका ढुङ्गा र जंगलका लहरा–झाडीले पनि उनीहरुलाई चिन्थे, खोला–छहरा, भीरगुफाले पनि चिन्थे, चुपचाप सघाउँथे, आपत्मा बचाउँथे। उनीहरु सामु शिकार फेला पर्न आए रुखका मसिना पात पनि चुपचाप हेर्थे, कत्ति पनि कानेखुसी नगरी। त्यस दिन सातै खोला, नौवैँ डाँडा घुमिसक्यो, तैपनि केही फेलै परेन। अबेर–अबेर हुँदा बल्ल रान्जान र ग्योलङ पर्पातीको सामुन्ने एउटा वोम्लु देखापर्न आयो। उत्साहित भएर फटाफट ज्वाइँ गौँडामा बसे, ससुरा उताबाट आए। वोम्लु (चरा) आयो, एकछिन हरायो, फेरि तुरुन्त देखा परिदियो। ग्योलङले धनुमाथि काँड चढाई प्रहार गरे, एकैखेपमा ठहरै ! रान्जानले झट्टै काँड प्रहारको आवाज चाल पाइहाले, शिकार कहाँ छ, कहाँ भाग्यो, यसरी सोधे। ग्योलङ ससुराछेउ आएर काँडको टुप्पैमा तात्तातै मुटु भएको सय ग्राम पनि पुगनपुग वोम्लु उचाल्दै ‘इः यै हो’ भनेर देखाइदिए। शिकारको रगत हतियारमा रङ्गाइदिए, हतियारले अरु पनि रगत बोलाओस् भनेर। अलिअलि हावा पनि चल्दै आए, हावाले वोम्लुको एकदुइटा हलुका प्वाँखभुत्ला आकाशतिर उडाउँदै लगे। सानै शिकार भए पनि उनीहरुले खुसी त ठुलै माने। रान्जानले ग्योलङलाई त्वोन (शिकारीले पाउने विशेष शिकारको भाग) वोम्लुको यालः (फिला) ज्वाइँलाई दिए। दुवै अलग–अलग बासस्थानमा फर्के।

ग्योलङ पर्पाती बासमा आइपुग्दा उसको स्वास्नी चःङ्गिनी थाह्रो (बख्खु, राडी आदि) बुनिरहेकी थिई। उसलाई रित्तै देखेर साह्रो झर्किन थाली। लोग्नेले वोम्लु यालः दिँदा झनै पो चर्को झर्की। लोग्ने पालो आक्रोशमा जल्दै त्यही यालःले चःङ्गिनीको काखमा टाढैबाट फ्याँक्दाखेरि उसको दाहिने साँप्रो नै भाँचियो। त्यही दुर्घटना र चःङ्गिनीको सरापले गर्दा साप्ता र सिप्ता हार्दी (सम्बन्ध अलग–अलग) भयो। मरेको मान्छेले जिम्दो मान्छेलाई देख्न समर्थ हुने, तर नमरेको मान्छेले चैँ मरेको मान्छेलाई नदेख्न सक्ने भयो, एकोहोरो भयो, दोहोरो देखादेख हुन छोड्यो। वोम्लु पनि आकाशमा उड्न नसक्ने भयो, दुलोभित्र अँधेरोमा बस्न परोस् भनी सराप प¥यो। यसको पखेटा अविकसित, पुच्छर त हँुदैन नै, तैपनि यसको मासु भाग लगाइयो भने नौ भाग हुन्छ भनिन्छ।

दिन–रात समय बित्दै गयो। मरेको मान्छेको छोरी (चःङ्गिनी) मरेको नै हो, त्यसपछि भने सध्धैँको लागि हरायो, अदृश्य भएर गयो, तर तिनको प्रेम भने लोग्नेप्रति रातरातमा झनै गहिरिँदै जान थाल्यो। दिम्सो नदेखे पनि राति–राति सपनामा आउन, सँगै सुत्न, एउटै ओछ्यान माग्न आउन थालिन्। आखिर मन न हो, ग्योलङ पर्पातीको पग्लिन थाल्यो। विस्तारै उनीहरुबीच रातमा मात्र हैन, दिनमा पनि दुरी घट्दै जान थाल्यो। रातको दुरी त लगभग शून्य नै हुन पुग्यो। चःङ्गिनीले माया गर्ने छाँटसुइँको पाइन्। लोग्नेको हृदयमा पनि स्वास्नीको चित्रछाप झन्–झन् गाढा हुन थाल्यो। यति भएपछि चःङ्गिनीले सपनामा लोग्नेलाई हातको कान्छी औँलामा प्यङ्ग्री (कालो धागो) बाँध्न लगाइन्। चःङ्गिनी उसको लागि खालि रातभरिको सपनासम्मको लागि मात्र भएर गइन्। तेस्रो रातमा ग्योलङले उसको देब्रे हातको कान्छी औँलामा प्यङ्ग्री बाँधिदिए। मिर्मिरमा उठ्दा चःङ्गिनी सँगै सुतेकी थिइन्, तर अँगाल्दाखेरिमा दुईहातको मुठीभित्रै बिलाउँदै गइन्, प्यङ्गीको फुन्तलङ (डल्ल्याएर बेरिएको धागो) पनि क्रमशः फुस्किँदै गयो। त्यही धागो पछ्याउँदै जाँदा धागो चःङ्गिनीको चिहानभित्र गई टुङ्गियो। यसैकारण आज मान्छे मरेको तीन दिनमा मृतकको खाङ्स (चिहान) मा गएर ‘ल्ह ग्वो’ (सातो बोलाउने) लोकप्रचलन गुरुङ समुदायमा छ।

. . .

श्रुतिस्मृतिपरम्परामा बाँचेको कथा यहीँ र यत्तिमै सकिन्छ। अलि रोचक कथापात्र यसमा, वोम्लु हो। यो एक किसिमको उच्च पहाडी भेकमा दुलो वा झाडीभित्र उपलब्ध हुने डल्ले चरा हो, ज्यान चैँ दुइटा फिस्टेको ज्यान जतिको, जोखेमा सय ग्राम पनि पुग्ने समर्थ राख्दैन। यसको पुच्छेर अन्य चराको जस्तो हुँदैन, पखेटा पनि उडान प्रतिकूल हुन्छ। यसलाई लेकको पेन्गुइन भन्दिँदा फरक नपर्ला। यो चरासित जोडिएको एक अंश बाल्यस्मृति यहाँ प्रस्तुत हुँदैछ। यो चराले मिथकमा दुर्घटना निम्त्याइए जस्तै मलाई पनि सानो छँदा यही चराले यसैउसै दुर्घटना हर्षलाग्दो पाराले गाँसिदिएको छ। उसबेला, सात–आठ वर्षे उमेर हुँदाखेरि प्राङ (गोठ) मा जानु खुब स्वाद पथ्र्याे। घुम्ती–गोठ कैसाङबारीमा पुग्दा नगई त निद्रा नलाग्ने। कारण, ठुल्ठुला गाई–बाख्रा हेर्न भन्दा पनि त्यही डल्ले चरा वोम्लु खेद्न हो। गोठाले साथीहरु एक ग्रुप भेला हुने, घेरा हाल्ने, गुलेली प्रहार गर्ने, त्यो भन्दा पनि सजिलो त स्याउलाले आवाज आएतिर जथाभावी प्रहार गर्ने, कहिले त फेला पनि परिहाल्ने। तर उड्न त्यति नसके पनि यति छिटो कुद्ने कि तुरुन्तै त्यैँको त्यैँ अलप भएर दुलोमा सुरक्षित भइदिहाल्ने। जंगल–खर्कमा, झाडीभित्र, दुलो ढुकेर यसको शिकार गर्दा प्रशस्त चोटि लडियो, चिप्लियो, चोट खाइयो, तैपनि यसको स्वादले सब बिर्साइदिने। शिकार गरेपछि जंगलमै पोलेर खाने, जसले मारेको हो, उसको भागमा त्वोनको रुपमा एक्स्ट्रा भाग टाउको पथ्र्यो। कुनै पनि चरा शिकार गरेर पोल्नु अघि त्यसको जिब्रो थुत्ने गथ्र्यौँ, जिब्रोलाई यसो गुलेलीभैmँ आकार पारेर त्यसतर्पm चराको केही भुत्ला उखेली दुइऔँलाबीच सुस्तरी च्यापेर मुखले अलि परैबाट फुक्दै कति भुत्ला टाँसिन पुग्दो’रैछ, हेथ्र्यौँ र जति भुत्ला टाँसिन पुग्छ, त्यति नै चरा शिकार गर्न सकिने, एउटा टाँसिन पुगेको भुत्ला बराबर एउटा चरा शिकार हुने विश्वास गथ्र्यौँ। ‘खार्क सार’ (पैलो बास नबसेको नयाँ गोठ) मा मासु पोल्न नमिल्ने चलन, हाम्रोमा छ, त्यै भएर गोठबाहिर कतै आगो जोरेर पोलेर खान्थ्यौँ। वोम्लु सँगै अरु चराको पनि शिकार हुन्थ्यो, तर प्रायः वोम्लुको शिकार चैँ सामूहिक हुने गथ्र्यो। पोलेको मासु गहुँजौँको सातु, प्वा (भुटेको मकै, भटमास वा गहुँ), एक ढिको नुन पालैपालो चाट्दै सँगै बाँडीचुँडी खान्थ्यौँ। वोम्लुको मासुको स्वाद अझै पनि ताजै छ। गोठाले केटाहरुसँग यसको खेदाइमा सामेल भएर गाई–बाख्राले अर्काको बालीखेती सखाप पारेर ‘वोस्य’ (बस्तुभाउले बाली नाश गरे बापत बाली धनीलाई तिर्नुपर्ने अन्न, जरिवाना) को पासोमा धेरखेप परियो। याद अझै छ, एक चोटि त यसै वोम्लुको कारण गाई–बाख्राले मकै बाली सखापै पार्न भ्याएको, वोस्य तिर्दाखेरि जति मकैको बोट नाश भएको हो, त्यति नै घरको मकैको घोगा गनेर तिर्नुपर्ने भयो। जाबो हात पारेको जम्मा दुइटा कि तीन्टा डल्ले वोम्लु, सट्टामा करिब असीनब्बे घोगा मकै वोस्य तिर्नुपर्ने पो भयो। त्यसबेला वोम्लु मिथकबारे सुइँकै थिएन। चःङ्गिनीको साँप्रै भाँच्न सक्ने वोम्लुले असीनब्बे मकै घोगा भाँच्न त कति गाह्रो र!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.