फिनटेक इन्टरनेशनल प्रालीले स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्ने प्रणाली संचालनका लागि इजाजत पत्र पाएको छ।
मंगलबारदेखि काठमाडौं उपत्यका भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा उक्त प्रणाली संचालन गर्न पाउने भएको हो। फिनटेकले नियामक निकाय नेपाल राष्ट्र बैक समक्ष इजाजत पत्रको लागी निवेदन दिएको थियो।
यससँगै फिर्ता पैसा नहुने समस्या, महामारी सर्नसक्ने जटिलता हुँदैन। साथै सरकारबाट तोकिएको भाडा भुक्तानी स्मार्ट कार्ड मार्फत हुने बताइएको छ।
यो सेवा फागुन एक गतेबाट दिइनेछ। मुख्य ३० स्थानहरुमा यात्रु सेवा तथा सहायता केन्द्र स्थापन गरी कार्ड वितरण गरिनेछ। कार्ड रिचार्ज गर्ने तथा ग्राहकलाई सेवाबारे जानकारी गराइनेछ। सेवा संचालन भएको ६ महिनाभित्र उपत्यकामा संचालन हुने हजार बसमा उक्त सेवा संचालन गरिसक्ने बताइएको छ।
विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुहरुलाई सहुलियत कायम हुने कार्ड वितरण गरिने समेत जानकारी दिइएको छ।
६ महिनाभित्र अनलाइन बस टिकट वुकिङ र बस ट्याकिङ वेभ तथा एप संचालनमा ल्याइने कम्पनीको भनाइ छ।