जर्मनीको कार निर्माता कम्पनी अडीका प्रमुख कार्यकारी रुपटए स्टाड्लर पक्राउ परेका छन्। कारबाट उत्पन्न हुने प्रदूषण जाँचसम्बन्धी कागजात लुकाएको आरोपमा उनी पक्राउ परेका जाँच अधिकारीहरूले जनाएका छन्।
अडी विश्वकै ठूला अटोमोबाइल कम्पनीमध्ये एक फक्सवागनको स्वामित्वमा छ। तीन वर्षअघि कम्पनीका कारहरूबाट उत्पन्न हुने प्रदूषण लुकाउन नयाँ उपकरण जडान गरिएको आरोप लागेको थियो।
सबभन्दा पहिले फक्सवागनकै कारमा देखिएपछि कम्पनी कारबाहीमा परेको थियो। अडीमा पनि यो उपकरण जडान गरिएको पाइएको छ।
अडीले गत महिना ए६ र ए७ मोडलका ६० हजार डिजेल कारमा प्रदूषण उत्सर्जन समस्या आएको स्वीकारेको थियो।
त्यस्तै, गत वर्ष उसले आफ्ना कारमा केही खराबी आएको र बनाउनुपर्ने भन्दै बजारबाट ८ लाख ५० हजार वटा कार फिर्ता मगाएको थियो।
त्योबेलादेखि नै अनुसन्धान चलिरहेकोमा प्रमुख कार्यकारी स्टाड्लरले यो मामिलासँग सम्बन्धित कागजात लुकाएको आरोप छ। स्टाड्लरको सुनुवाइ यही बुधबार हुने अधिकारीहरूले जनाएका छन्। सुनुवाइअघि उनलाई आफ्नो वकिलसँग परामर्श र कुराकानी गर्न दिने बताइएको छ।
जर्मनीको एक अखबारका अनुसार उनको स्थानमा निमित्त प्रमुख कार्यकारीका रुपमा ब्राम स्कट नियुक्त भइसकेका छन्।
फक्सवागनको प्रदूषण उत्सर्जनमा घोटाला सन् २०१५ मा खुलासा भएको थियो। कम्पनीले अमेरिकामा बेचेका करिब ६ लाख कारमा जाँच गर्दा प्रदूषण कम देखाउने उपकरण जडान गरेको स्वीकारेको थियो।
सबैगरी जम्मा १ करोड १० लाख डिजेल कारमा यस्तो उपकरण जडान गरेको पनि कम्पनीले बताएको थियो। यो उपकरणको माध्यमबाट जाँच गरेका बेला मापदण्डभित्रै प्रदूषण स्तर देखाउन सकिन्छ।