काठमाडौं, वैशाख १ (सेतोपाटी)– नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बढिरहेको आरोप लागिरहेको वर्तमान परिस्थितिमा विकिलिक्सद्वारा जारी केही केबलले नेपाल र छिमेकी मुलुकहरूमा भारतीय हस्तक्षेपको लामो पृष्ठभूमि भएको खुलासा गरेको छ ।
भारतले नेपालमा ‘ठूलो दाइ’ र दुष्टतापूर्ण व्यवहार गरेको र त्यसका कारण नेपालमा भारतप्रति सम्मान घटेको विश्लेषण ती केबलमा उल्लेख छ ।
विकिलिक्सद्वारा यता आएर सार्वजनिक गरिएको केबलमा भारतीय जासुसी संस्थाहरूले नेपालमा दुष्टता प्रदर्शन गर्ने गरेको र यदाकदा त्यसको प्रत्याभूति व्यवहारमा पनि उतार्ने गरेको खुलासा गरेको छ ।
श्रीमती इन्दिरा गान्धीको नेतृत्व र भारतमा संकटकालताका दिल्लीस्थित अमेरिकी राजदूतावासबाट उसको विदेश मन्त्रालय पठाएका केबलको हवालाबाट भारतका त्यस्ता गतिविधिले नेपालमा भारतविरोधी भावना फैलाएको बताइएको छ । अक्टोबर ५, १९७६ मा पठाइएको केबलमा नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्दै आएको आरोप अमेरिकाले लगाएको छ । त्यसको करिब एक महिनापछि या ८ नोभेम्बरको केबलमा छिमेक क्षेत्रमा भारतले ‘ठूल्दाइ’को भूमिका खेलेको भन्दै आपत्ति जनाइएको पनि उल्लेख छ । केबलले दिल्लीस्थित अमेरिकी राजदूत मार्किटा मट्याग र नेपाली राजदूत कृष्णबम मल्लबीचको वार्ता उद्धृत गर्दै राजदूत मल्लले यस क्षेत्रमा भारतीय ‘ठालूपन’को आलोचना गरेको उल्लेख छ ।
राजदूत मल्लले राजदूत मट्यागलाई भने, ‘भारत आफूलाई यस क्षेत्रमा गे्रट ब्रिटेनकै उत्तराधिकारी ठान्दछ र आफ्ना छिमेकीहरूलाई दबाउने प्रयास गरिरहेको छ ।’ उनको यो कथन भारतले नेपालको शान्ति क्षेत्र प्रस्तावप्रति देखाएको नकारात्मक रवैयातर्फ लक्षित छ ।
व्यापार तथा पारवहन विषयमा नेपालको मागप्रति भारतले लिएको ‘अत्यन्तै कठोर’ अडानप्रति राजदूत मल्लले भारतको आलोचना गरेको केबलमा छ, ‘नेपालको पारवहन अधिकारका पक्षमा सहयोग पु¥याउनुको साटो भारतले नेपालको मागलाई अत्यन्त असहज बनाउने प्रयास ग¥यो ।’ राजदूत मल्लका अनुसार भारतको रवैयाका कारण नेपालले तेस्रो मुलुकबाट सामान झिकाउँदा अत्यन्तै महँगो पर्न जाने र भारतबाटै सामान खरिद गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना गर्न उसले त्यस्तो असहयोगी व्यवहार देखाएको छ ।
प्रकाशित मिति: 2013-04-14 15:36:17