नयाँ वर्ष मनाउने क्रममा वागमतीमा नुहाउन गएका ३ जनाको डुबेर मृत्यु भएको छ ।
वसतपुर ४, रौतहटका दीपक झा, रितेश झा र किसन झा आइतबार बिहान नदीमा पौडी खेल्न जाँदा डुबेका थिए ।
डुबेको भेटेपछि स्थानीयले उद्धार गरेर अस्पताल लाँदै गर्दा एक जनाको बाटोमा र बाँकी दुई जनाको उपचारक क्रममा अस्पतालमा ज्यान गएको हो ।
अस्पतालले उपचारमा ढिलाइ गरेको भन्दै आक्रोशित स्थानीयले जिल्ला अस्पताल गौरमा तोडफोड गरेका छन् । स्थानीयको आक्रमणबाट अस्पतालका झ्याल–ढोकाका सिसा फुटेका छन् । यसैबीच अस्पताल प्रमुख सचितानन्द देवले सानो घटनालाई राजनीतिकरण गरेको भन्दै दुखेसो पोख्दै घटनामा अस्पतालको कुनै दोष नभएको र उनीहरू सबैको बाटोमै ज्यान गएको बताए ।
केही समय तनावग्रस्त बनेको जिल्ला अस्पताल गौर अहिले शान्त भएको छ । प्रहरीको आग्रहमा मृतक सबैको शवलाई दाहसंस्कारको लागि आफन्तको जिम्मा लगाइएको छ ।