काठमाडौं, चैत ३१ (सेतोपाटी)– माओवादी अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला बेइजिङले नेपालका विभिन्न राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने संकेत देखाएको छ । वैशाख १ गते आइतबार एक साता लामो चीन भ्रमणमा जान लागेका दाहाल नेपाल फर्केलगत्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम प्रजातान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई अलगअलग चीन भ्रमणको निम्ता आएको राजनीतिक सुत्रबाट थाहा भएको छ ।
दाहालले जस्तै यी नेताहरूले चीनका नवनिर्वाचित राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री वेन जिआवाओसँग छुट्टाछुट्टै भेट गर्ने जानकारी प्राप्त भएको छ । छिमेकी भारतभन्दा पनि केही कदम अगाडि गएर चीनको उच्चतम राजनीतिक तहले नेपालका राजनीतिक नेतृत्वसँग प्रत्यक्ष अन्तक्र्रिया गर्नुलाई अत्यन्त राजनीतिक र कुटनीतिक चाखका साथ हेरिँदै छ । विद्यमान अवस्थामा र खिलराज रेग्मी सरकारको नेतृत्वमा चुनावमा भाग नलिने घोषणा गरेका नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पहिल्यैदेखि चीनसँग निकट सम्बन्ध स्थापित गर्न सफल भएका छन् । यद्यपि त्यहाँ हालै भएको राजनीतिक परिवर्तनपछि उनीहरू बेइजिङ गएका छैनन् । उनीहरूलाई त्यसतर्फबाट कुनै निमन्त्रणा आए÷नआएको प्रस्ट हुन सकेको छैन ।
एक साता लामो चीन भ्रमणबाट फर्कनेबित्तिकै आफू भारत जाने कार्यक्रम रहेको जानकारी दाहालले पार्टीलाई दिएका छन् ।
प्रकाशित मिति: 2013-04-13 22:47:50