राजधानीमा जारी गोरखा कप फुटबल प्रतियोगितामा थ्रीस्टार र आरसीटीले विजयी सुरुआत गरेका छन्। अखिल नेपाल फुटबल सङ्घको एन्फाको आयोजना तथा गोर्खा ग्रुपको मूख्य प्रायोजनमा राजधानीको दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार क्लबले नवलपरासीको देशभक्त क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हरायो।
थ्रीस्टारको जितमा सन्तोष साउखलले ह्याटि्रक गरे भने निराजन खङ्का, डोडोज र योगेश गुरुङले एक एक गोल थपेका थिए ।
यसैगरी आजै भएको दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले शसस्त्र प्रहरी बल (एपिएफ)लाई २–१ गोलअन्तरले हराएको छ।
आरसीटीको जितमा अमर डङ्गोल र सुमन थापाले गोल गरेका थिए। यस्तै एपीएफका लागि राजेन्द्र रावलले गोल फर्काएका थिए।
भोलि आइतबारको पहिलो खेल अपराह्न २ बजे मनाङमस्याङ्दी क्लब र टुसाल युथ क्लबवीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबको सामना गर्नेछ।