आगामी आइतबारबाट सुरुहुने एघारौं संस्करणको गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको छ।
तमु धिं युकेको आयोजनामा हुने गोर्खा कप व्यवस्थित र सुरक्षित बनाइने आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ।
बेलायतमा नेपालीको सबैभन्दा ठुलो प्रतियोगिता भएको र स्थानीय ह्याम्पसायर काउन्ट्रीको क्यालेण्डरमा समेत नामांकित गोर्खा कपतिर सबैको चासो बढिरहंदा आयोजकले आफूमाथि थप जिम्मेवारी महशुस गरेका बताएको छ।
क्विन्स एभेन्यू ग्राउण्ड अल्डरसटमा हुने गोर्खा कपमा १० देखि १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। नाइन ए साइड उक्त फुटबल प्रतियोगितामा ४१ नन भेटरान र १० भेटरान टिम सहभागी हुनेछन्।
स्थानीय समुदायसँग समायोजनमा सहयोग पुग्ने अपेक्षासहित प्रत्येक टिममा तीनजना बेलायती खेलाडी सहभागी हुन पाउने प्रावधान मिलाइएको छ।
स्पोर्टस् सेक्रेटरी क्या. धनबहादुर गुरुङले तयारी सबै पुरा भइसकेको र खेल व्यवस्थित बनाउन आयोजक कमिटी तदारुकताका साथ लागिरहेको बताए।
उनले गोर्खा कपका केही उद्देश्य उल्लेख गर्दै आपसी भेटघाट, स्थानीय व्यवसाय प्रवर्द्धन, फुटबलमा व्यवसायिक खेलाडीको उत्पादन र लागू औषध एवं अल्कोहल सेवनविरुद्ध जनचेतना जगाउन इभेन्ट्स सफल रहेको बताए।
गोर्खा कपमा मिलिटरी वाइभ्स् कोयर, प्यारासुट डिस्प्ले, नृत्य, पाइपर धुन तथा खानाका स्टलहरुको आकर्षण हुने आयोजकको बताएको छ।