राजधानीमा जारी वाइवाई यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा जनकपुरले काठमाडौलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल नजिक पुगेको छ ।
त्रिवि मैदान किर्तिपुरमा वर्षाले २० ओभरमा घटाइएको खेलमा काठमाडौले ६ विकेट गुमाएर ६६ रन जोडेको थियो । काठमाडौका लागि संगीता गौचनले अविजित रहँदै १३ रन बनाइन् । काठमाडौंले २२ रन अतिरिक्तका रुपमा पाएको थियो ।
जवाफमा जनकपुरले १८ ओभरमा ३ विकेट गुमाएर विजय लक्ष्य हासिल गरेको थियो । जनकपुरका लागि १२ रन बनाएकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । आजको खेलमा पराजित भएसँगै लगातार दोस्रो हार बेहोरेको काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि आजको पहिलो खेल वर्षाले गर्दा रद्द भएको थियो । क्षेत्र नम्बर २ वीरगञ्जले क्षेत्र नम्बर ५ नेपालगञ्जको सामना गरिरहँदा वर्षाले खेल रोकिएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।
समूहको अन्तिम खेलमा भोलि जनकपुर र वीरगञ्ज तथा नेपालगञ्ज र काठमाडौंको सामना भिड्ने भएका छन् ।