नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डको १०औं संस्करण आगामी असार १८ गते राजधानीमा हुने भएको छ।
पाँच वर्षका लागि हंशराज एण्ड हुलासचन्द प्रालिको पल्सर वाइकले मुख्य प्रायोजन गरेको कार्यक्रमको नाम पल्सर स्पोर्टस अवार्ड रहने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
मञ्चले पल्सर स्पोर्टस अवार्डमा यसवर्ष उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र लोकप्रीय खेलाडीको अवार्ड प्रदान गर्नेछ।
यसै गरि वर्ष २०६९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुबाट प्राप्त उपलब्धि र प्रदर्शनका आधारमा पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५–५ जना मनोनयन गरी त्यसबाट एक जना उत्कृष्टलाई खेलाडीलाई विजेता घोषणा गरि अवार्ड दिने मञ्चले जनाएको छ। यस्तै बाँकी बिधामा अवार्डको दिन सोझै पुरस्कृत गरिने पनि कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रमका लागि नेपाल खेलकुद पत्रकार मञ्चका सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा खेलाडी छनोट समिति बनाइएको छ। आगामी जेठ १८ मा लोकप्रीय खेलाडीको मनोनयन सार्वजनिकसँगै एसएमएस भोटिङ पनि खुला गरिनेछ। अन्य विधाको मनोनयन त्यसपछि सार्वजनिक गरिने मञ्चले जनाएको छ। फरक रूपमा सफल खेलाडीलाई पारा एथलिट अवार्ड प्रदान गरिन्छ। नेपाली खेलकुदलाई लामो समय योगदान दिने एक खेल व्यक्तित्व लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने छन्। यस्तै नेपाली खेलकुदमा विषेश योगदान दिनेले एक जनालाई विशेष अवार्डबाट सम्मानीत गरिने छ।
गतवर्षको अवार्डमा वर्ष पुरुष र महिला खेलाडी तथा लोकप्रिय खेलाडीलाई एक एकवटा पल्सर मोटरसाइकल प्रदान गरेको थियो भने अन्य विधाका विजेतालाई जनही ३० हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो।
पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकुद जगतकै साझा कार्यक्रम भएकोले यसमा व्यापारिक संस्था, खेलकुदका संघ संस्था लगायत अन्य क्षेत्रको सहयोगको रहँदै आएको बताउदै मञ्चका अध्यक्ष अजय फुँयालले यसपल्ट नगद राशि वृद्धि गर्ने तयारीमा रहेको र थप एउटा विधामा पल्सर मोटरसाइकल प्रदान गर्ने प्रयास गरिरहेको बताए।
मञ्चले हंसराज हुलासचन्द एन्ड कम्पनीको प्रमुख प्रायोजनमा स्पोर्टस अवार्ड गर्दै आएको हो। प्रमुख प्रायोजक भएवापत हंसराज हुलासचन्दले ११ लाख रुपैयाँ प्रदान गर्नेछ।
खेलकुदले मात्र राष्ट्रिय एकता कायम गर्न सक्ने हुनाले आफ्नो कम्पनीले स्पोर्टस अवार्डमा सहकार्यलाई निरन्तरता दिएको कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले बताए। उनले भने, 'जुन एकता खेलकुदमा हुन्छ, त्यो अन्यमा देख्न पाइँदैन। खेलकुदले मात्र एकताको सूत्रमा बाँध्छ। अहिलेको अवस्थामा नेपालीलाई सबैभन्दा एकत्रित बनाउने शक्ति खेलकुद नै हो। त्यसैले हामीले यो अवार्डलाई निरन्तरता दिइरहेका छौं।'
मञ्चका महासचिव महेश आचार्यले विश्व खेलकुद दिवसका अवसर पारेर जुलाई २ मा अवार्ड गर्न लागिएको जानकारी दिए।