रेफ्रिलाई गाली गरेको आरोपमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई ४ खेलमा प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) ले विश्व कप छनोटअन्तर्गत चिलीविरुद्ध गत साता सम्पन्न खेलमा मेसीले रेफ्रिलाई मैदानमा अपमान गरेको बताउँदै अघिल्लो ४ अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। उनीमाथि करिब १० लाख ५५ हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।
अर्जेन्टिनाले विश्व कप छनोटअन्तर्गत साढे ५ घण्टापछि बोलिभियाविरुद्ध हुने अघिल्लो खेल अगाडि उनलाई प्रतिबन्ध लागेको हो। अर्जेन्टिना हाल दक्षिण अमेरिकी छनोटमा तेस्रो स्थानमा छ।
चिलीविरुद्धको खेल अर्जेन्टिनाले १–० ले जितेको थियो। निर्णायक गोल मेसीले पेनाल्टीबाट गरेका थिए। फिफाको अनुशाषन समितिले मेसीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि बार्सिलोनाका व्यवसायिक खेलाडीले बोलिभियाविरुद्ध मंगलबार हुने खेल गुमाउने छन्।
उनी अक्टुवर १० मा इक्वेडरविरुद्ध हुने खेलमा टिममा फर्किने छन्। अनुशाषन समितिको यो निर्णयविरुद्ध अर्जेन्टिनी फुटबल संघ र मेसी दुवै मिलेर फिफासमक्ष अपील गर्ने बताइएको छ।
चिलीविरुद्धको खेलमा उनले फल खेलेको भन्दै लाइन्सम्यानले झन्डा उचालेका थिए। यतिबेला रेफ्रिसँग रिसाएको फुटेज क्यामेरामा कैद भएको थियो। उनले लाइन्सम्यानलाई अनादार गर्दै आफ्नो हात माथि उचालेका थिए।
ब्युनोज आयर्समा भएको यो खेलमा पहिले त ब्राजिलियन रेफ्रि माथि भएको व्यवहारलाई लिएर फिफाले त्यति चासो राखेको थिएन्। तर, खेल सकिएपछि मेसीले रेफ्रि इमर्सन काभाल्होसँग हात मिलाउन नमानेपछि फिफा हर्कतमा आएको हो।
अर्जेन्टिनाको पत्रिका ओलेले छापेको फिफाको अनुसन्धान पत्रमा म्याच रेफ्रि सान्ड्रो रिचीले मेसीले रेफ्रिहरुको अपमान गरेको आफूले अनुभव नगरेको बताएका छन्।