फिलिपिन्सका कप्तान फिल यङहजब्यान्डको दुई गोलका कारण पहिलो हाफको खेल समाप्त हुँदा नेपाल ३–१ ले पछाडि परेको छ।
खेल सुरु भएको १२ मिनेटमै डिफेन्डर विक्रम लामालाई गुमाएको नेपाल त्यसपछि १० खेलाडीमा सिमित भएर खेलिरहेको छ। विक्रमले डिबक्स भित्र फिलिपिन्सको सम्भावित गोललाई हातले तानेपछि उनलाई रातो कार्ड देखाइएको थियो भने घरेलु टोलीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो।
कप्तान फिलको पेनाल्टीलाई सुरुमा नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। तर, २१ मिनेटमा फिलिपिन्सले पाएको अर्को पेनाल्टीको अवसरलाई कप्तान फिलले गोलमा परिणत गरे। उनले २३ मिनेटमा अर्को गोल थपेका थिए।
मनिलामा भइरहेको एएफसी एसिया कप छनोटअन्तर्गत घरेलु टोलीका लागि तेस्रो गोल इयान राम्सेले २८ मिनेटमा गरे।
नेपालका लागि विशाल राईले गोल गरे। उनले पहिलो हाफको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा ४६ मिनेटमा गरे। उनी अन्जन विष्टको ठाउँमा २९ मिनेटमा मैदानमा प्रवेश गरेका थिए।