संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले वीरगन्जस्थित जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ गरेका छन्। मंगलबार बिहान १० बजेदेखि मोर्चामा आबद्ध दलका कार्यकर्ताले संविधान संशोधनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन्।
संविधान संशोधन गरेपछि मात्र स्थानीय तहको निर्वाच हुनुपर्ने मागसहित मधेसी मोर्चा पर्साका नेता कार्यकर्ताहरुले दुई घण्टा निवार्चन कार्यालय घेराउ गरेका हुन्।
मोर्चा पर्साका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका अध्यक्ष पुरषोत्मलाल झाको नेतृत्वमा रहेको मधेसवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जको राधेमाई टोलस्थित जिल्ला निवार्चन कार्यालय पर्साको मुल गेटमा बिहान १० बजेदेखि १२ बजे सम्म धर्ना बसेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मोर्चा कार्यकर्ताहरुले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै निर्वाचन कार्यालय घेराउ गरेको बताए।
मोर्चाको धर्ना प्रदर्शनका कारण दुई घण्टासम्म्म कार्यालयको काम कारबाही अवरुद्ध भएको निवार्चन कार्यालयका कर्मचारीले बताएका छन्। मोर्चाको कार्यक्रमलाई ध्यानमा राखी निर्वाचन कार्यालय वरपर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।