भारतले अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्ट ८ विकेटले जित्दै शृंखलामाथि २–१ ले कब्जा गरेको छ।
मंगलबार चौथो दिनको खेलमा भारत विजयका लागि ८७ रनको सामान्य लक्ष्य बोकेर मैदानमा उत्रिएको थियो। भारतले ४६ रनमा मुरली विजय (८) र चेतेश्वर पुजारा (०) लाई गुमाए पनि केएल राहुलले अविजित ५१ र कप्तान अजिङ्क रहाणेले अविजित ३८ रन बनाउदै भारतलाई ८ विकेटको जित दिलाए।
अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय रन बनाएको थियो। जवाफमा भारतले पहिलो इनिङमा ३ सय ३२ रन बनाउदै ३२ रनको अग्रता बनाएको थियो।
अस्ट्रेलिया दोस्रो इनिङमा १ सय ३७ रनमा आउट भएपछि भारतले जितका लागि १ सय ६ रनको लक्ष्य पाएको थियो। जुन भारतले चौथो दिन पुरा गर्यो।
अस्ट्रेलियाविरुद्ध पनि टेस्ट शृंखला जितेको भारतको लगातार सातौ शृंखलामा जित हो। भारतले पूणेमा भएको पहिलो टेस्टमा पराजय भागेपनि उत्कृष्ट पुनरागमन गर्यो। भारतले पहिलो टेस्ट हारेर शृंखलामा कब्जा जमाएको पनि चौथो अवसर हो। यसअघि १९७२–७३ मा इङ्ल्याण्ड, सन् २००१ मा अस्ट्रेलिया र २०१५ मा श्रीलंकाबाट पहिलो टेस्ट गुमाएर शृंखला जितेको थियो।
पुजारा पहिलो पल्ट घरेलु टेस्टमा डक आउट भए। उनी घरमा खेलिएको ५० खेल पछि डक भएका हुन्। चौथो टेस्टको म्यान अफ दि म्याच रवीन्द्र जडेजालाई घोषित गरियो। उनी शृंखलाको उत्कृष्ट खेलाडी पनि छानिए।
चोटका कारण विराट कोहलीको स्थानमा रहाणेले कप्तानी गरेका थिए।