विराज महर्जन नेपाली फुटबलप्रेमीका लागि नयाँ नाम होइन। सन् २००७ मा एन्फा एकेडेमीबाट निस्किएपछि उनी नेपाली फुटबलमा निकै सक्रिय छन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका विराजले यस अवधिमा राष्ट्रिय टोलीमा ‘ड्रप’ नभई ५० भन्दा बढी खेल खेलिसकेका छन्।
फुटबलप्रतिको उनको लगाव र ज्ञानको कदर गर्दै नेपालका लागि जापानी प्रशिक्षक कोजी ग्योटोकुले आज हुने फिलिपिन्सविरुद्धको खेलका लागि राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेका छन्।
नेपालले एएफसी एसिया कप छनोटअन्तर्गत आज फिलिपिन्सविरुद्ध मनिलामा खेल्दैछ। विराज यस खेलका लागि आफूलाई कप्तानको जिम्मेवारी दिएकोमा उत्साही छन्। उनको लागि अहिले सबै खेलाडीलाई आफ्नो सोचमा ढालेर उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नु नै मुख्य उद्धेश्य हुनेछ।
उनी यसका लागि आफू तयार भएको बताउँछन्। साथै खेलको नतिजालाई लिएर केही तनावमा पनि छन्। उप-कप्तानको भूमिकामा उनको प्रदर्शन प्रभावशाली थियो। कप्तानको भूमिकामा कस्तो नतिजा निस्कने हो? यसले उनको लामो फुटबल करिअर मात्र होइन, भविस्य पनि निर्धारण गर्नेछ।
विराजले युथ १४, युथ १६ र युथ १९ टिममा ‘ड्रप’ नभई फुटबल खेलेका थिए। तर, त्यतिबेला उनलाई कप्तानको भूमिका दिइएको थिएन। गत वर्ष बंगलादेशमा युथ– २३ को बंगबन्धु गोल्डकप र भारतमा १२ औं दक्षिण एसियाली खेलमा फुटबलको उपाधि जित्दा उनी टोलीका कप्तान थिए।
पाँच महिनाअघि नेपालले ऐतिहासिक रूपमा पहिलो पल्ट एएफसीको आधिकारीक फुटबल प्रतियोगिता एएफसी सोलिडारिटी कप जित्दा उनी टिमको उप-कप्तान थिए। यो प्रतियोगितामा अनिल गुरूङलाई कप्तान नियुक्त गरिएको थियो। तर, खेलमा अनिलको स्थान नियमित नहुँदा मैदानमा विराजले नै राष्ट्रिय टोलीलाई सम्हालेका थिए।
त्यसैले उनीसँग मैदानमा नेतृत्व गर्ने राम्रो अनुभव छ।
‘म आफूलाई राष्ट्रिय टोलीको कप्तानको भूमिका दिएकोमा भाग्यमानी अनुभव गरिरहेको छु, केही दबाब पनि महसुस भइरहेको छ,’ विराजले सेतोपाटीसँग भने।
उनी युथ–२३ टोलीको कप्तान हुँदा नवयुग श्रेष्ठ टिमका स्टार स्ट्राइकर थिए। बंगलादेश र भारतमा लगातार उपाधि जित्दा नवयुगको गोल नै टिमका लागि महत्वपूर्ण बनेको थियो। तर, विराजले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दा हाल टोलीमा नवयुग चोटका कारण अनुपस्थित छन्। विराज नवयुगको अनुपस्थितका कारण केही खल्लो महसुस गरिरहेका छन्। तर, कर्ण लिम्बुको आगमनले टिमलाई सन्तुलित बनाएको उनको भनाई छ।
उनी यसअघि आफूले फिलिपिन्ससँग ३ वटा खेल खेल्दा विपक्षी टोलीको उत्कृष्ट प्रदर्शनभन्दा पनि आफ्ना गल्तीका कारण पराजय भोगेको बताउँछन्। र, यसपाली कडा चुनौती दिने दावी गर्छन्।
‘हाम्रो टिम पनि सन्तुलित छ। पछिल्लो खेलमा हामीले आफ्नो गल्तीको कारण गोल खाएका थियौं। त्यो गल्तीबाट हामीले धेरै सिकेका छौं। उनीहरु हामीभन्दा बलियो टिम हो। त्यसैले सम्हालिएर खेल्नुपर्ने आवश्यकता छ,’ उनी भन्छन्।
नेपालले हालसम्म फिलिपिन्ससँग ४ वटा खेल खेलेको छ। जसमा १९८४ मा भएको किङ्स कपमा १–० ले हराएको नतिजा बाहेक बाँकी ३ खेलमा नेपाल पराजित छ। नेपालले २०११ देखि हालसम्म फिलिपिन्ससँग ३ वटा मैत्रीपूर्ण खेल खेलेको छ। जसमा २०११ मा ४–०, २०१४ मा ३–० ले पराजित भएको थियो।
त्यसैले विराजका अगाडि अहिले ३५ वर्ष पुरानो नेपाली फुटबलको सफल इतिहासलाई फर्काउनु पनि हुनेछ। यसका लागि आफूले निकै मेहनत गरेको विराज बताउँछन्। उनी केही वर्ष अगाडि मैदानमा सधै जसो तनावमा देखिन्थे। तर, कप्तानको जिम्मेवारी पाएपछि विस्तारै यसमा नियन्त्रण पाएको उनको भनाई छ।
‘पहिले म आफै झर्किन्थे। तर, विस्तारै यो बानी हट्दै गइरहेको छ। अहिले म आफू उद्देलित हुनेभन्दा पनि अरु खेलाडी तनावमा आए भने उनीहरुको तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोचमा हुन्छु,’ विराज भन्छन्।
उनी अहिले समर्थकको आफूप्रति थुप्रै आशा रहेको बताउँछन्। र, आजको खेलमा त्यो आशालाई भत्किन नदिने विश्वास दिलाउँछन्। ‘हाम्रो उद्धेश्य भनेको राम्रो फुटबल खेल्ने हुनेछ। नतिजाले ठूलो महत्व राख्छ। त्यसैले हामी चाहन्छौं सबैले हाम्रो खेल हेरेर ‘वाह’ भनोस,’ उनी भन्छन्।
यो पनि हेर्नुहोस्