चेक गणराज्यले सान मारिनोलाई ६–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको केही घण्टामै उत्तरी आयरल्यान्डले नर्वेलाई २–० ले हराउदै चेकलाई तेस्रो स्थानमा धकेलेको छ।
नेपाली समयअनुसार आइतबार राती विश्व कप छनोटअन्तर्गत समूह सीतर्फको खेलमा चेकले उत्कृष्ट नतिजा निकालेर जर्मनीपछि दोस्रो स्थानमा उक्लिएको थियो। तर, सोमबार बिहान उत्तरी आयरल्यान्डले आफ्नो घरेलु मैदान विन्ड्सर पार्कमा नर्वेलाई हराउने क्रममा ५ खेलबाट १० अंक बटुल्दै दोस्रो स्थान कब्जा गर्यो।
यो नतिजासँगै उत्तरी आयरल्यान्डको प्लेअफबाट विश्व कपका लागि छनोट हुने सम्भावना जिवित रहन पुगेको छ। ८ अंकमा रहेको चेक भने बाहिरिने स्थितिमा देखिएको छ। समूह सीमा जर्मनी सम्पूर्ण ५ खेल नै जितेर १५ अंकका साथ शीर्षस्थानमा छ।
नर्वेविरुद्ध जामी वार्डले दुई मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। अर्को गोल स्टिभन डेभिसको पासमा कोनर वासिङटनले ३३ मिनेटमा गरे।
लास लेगर्सब्याकको व्यवस्थापनमा नर्वे विश्व कप अभियानमा धेरै पछाडि छुटेको छ। ऊ तीन अंकका साथ पाँचौ स्थानमा छ। शीर्षस्थानको जर्मनीभन्दा १२ अंकले नर्वे पछाडि छ।