नेथन लायनले अन्तिम सेसनमा उत्कृष्ट बलिङ गरेपछि भारतको चौथो टेस्टको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ३ सय रनलाई उछिन्ने अभियानमा धक्का लागेको छ।
लायनले आरामले खेलिरहेका चेतेश्वर पुजारा (५७), कप्तान अजिङ्क रहाणे (४६), करुण नायर (५) र रवीचन्द्रन अश्विन (३०) को रुपमा ४ विकेट लिएपछि भारत पहिलो इनिङमा ५२ रनले पछाडि छ।
अस्ट्रेलियाको पहिलो इनिङको जवाफमा भारतले आइतबार दोस्रो दिनको खेल समाप्त हुँदा ६ विकेटको क्षतिमा २ सय ४८ रन जम्मा पार्यो।
भारतका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ६० रन बनाए। मुरली विजय ११ रन बनाउदै चाँडै आउट भए। पुजाराले दोस्रो विकेटका लागि राहुलसँग मिलेर ८७ रनको साझेदारी गरेका थिए।
दोस्रो दिनको खेल समाप्त हुँदा रवीन्द्र जडेजा १६ र विकेटकिपर रिद्धिमान शाह १० रन बनाएर अविजित छन्। पाट कमिन्स र जस हेजलउडले १–१ विकेट लिए।