विश्व कप छनोटअन्तर्गत युरोपको समूह जीअन्तर्गतको खेल खेल्न इटाली पुगेको अल्बानियाका समर्थकले इटालीको मैदानमा उपद्रो मच्चाएका छन्। जसका कारण खेललाई बीचमा ८ मिनेट रोक्नु परेको थियो।
यो घटना त्यतिबेला भएको थियो, जब दोस्रो हाफको खेल सुरु हुन लागेको थियो। रंगशालामा अल्बानियाको दर्शकदीर्घाबाट रकेट लञ्चर (पटाका) फ्याँकिएको थियो। एउटा आगोको मुस्लो अल्बानियाली गोलकिपरको छेउमा झरेको थियो।
यो घटनापछि भ्रमणकारी दलका कप्तान आन्सी अगोलीले आफ्ना दर्शकलाई शान्ति कायम राख्न अपील गरेका थिए।
अल्बानियाले २–० ले खेल हारेको थियो। इटालीका अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको हजार खेलको रुपमा रहेको यो खेलमा १२ मिनेटमा रेफ्रिले इटालीलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो।
यो निर्णयबाट रिसाएका दर्शकले यस्तो हर्कत गरेको बताइएको छ। अल्बानियाका इटालियन प्रशिक्षक जियानी डे बायसीले मैदानमा आफ्ना दर्शकहरुले देखाएको व्यवहारबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। उनले आफूले यस्तो घटनाको कल्पना पनि नगरेको बताए।