अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) को अध्यक्ष पदबाट एक्कासी राजीनामा गरेका भारतका शशांक मनोहरको मन बदलिएको छ। अब उनी आफूले दिएको राजीनामा फिर्ता लिने मनस्थितिमा पुगेका छन्।
मनोहरले गत साता मात्र व्यक्तिगत कारण देखाउदै आइसिसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। २ वर्षको कार्यकाल भएपनि उनले ८ महिनामै राजीनामा गरेका थिए। अहिले उनी आइसिसीका अन्य सदस्य तथा निर्देशकहरुको आग्रहमा आफूले राजीनामा फिर्ता लिने सोच बनाएको बताउदै छन्।
‘म प्रति निर्देशक तथा साथीहरुले गरेको विश्वासको उच्च सम्मान गर्छु। त्यसैले मैले राजीनामा फिर्ता लिने सोच बनाएको छु,’ मनोहरले भने।
भारतीय क्रिकेट बोर्डमा विवाद देखिएपछि मनोहर स्वतन्त्र व्यक्तिको रुपमा आइसिसीको अध्यक्ष पदमा लडेका थिए। जसमा उनलाई सफलता प्राप्त भएको थियो। उनीविरुद्ध भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड जस्ता प्रभावशाली क्रिकेट संघलाई असर पर्ने निर्णय गरेको आरोप लागेको थियो।