इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयरडेभिल्सलाई १० औं संस्करणको आइपिएल सुरु हुनुअघि ठूलो धक्का लागेको छ।
दिल्लीबाट अनुबन्धित दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डि काकले चोटका कारण यो सिजनको आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन्। यसको जानकारी क्रिकेट दक्षिण अफ्रिकाले दिल्ली टिमलाई शुक्रबार दिएको छ।
यद्यपी उनी चोटग्रस्त बताइए पनि हेमिल्टनमा न्युजिल्यान्डविरुद्ध शनिवारबाट सुरु हुने तेस्रो टेस्टमा सहभागी हुँदैछन्।
डि काकलाई किवीविरुद्ध दोस्रो टेस्टमा चोट लागेको थियो। अफ्रिकाले डि काकलाई पूर्णरुपमा ठिक हुन चार साता लाग्ने बताएको छ।
अफ्रिकी टोलीका कप्तान फाफ डु प्लेसिसले तेस्रो टेस्टमा डि काकलाई खेलाउने निर्णयको विषयमा भने– यो ठूलो खेल हो। त्यसैले क्विन्टनजस्तो खेलाडीलाई बाहिर राख्न सकिन्न।
डि काकको औलामा पहिले देखि समस्या रहेको बताइएको छ। त्यसैले विकेटकिपिङ गर्दा उनलाई बल समात्न निकै गाह्रो भइरहेको थियो।