भारतले १२ वर्षदेखि घर बाहिर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल नजितेको खराब नतिजालाई बुधबार तोडेको छ। कम्बोडियाविरुद्ध फोनोम पेनको ओलम्पिक रंगशालामा भएको खेलमा पूर्व कप्तान सुनिल क्षेत्रीको गोलको सहयोगले भारतले घरेलु टोलीलाई ३–२ ले पराजित गर्यो।
भारतले सन् २००५ को जुनमा अन्तिम पल्ट घर बाहिर मैत्रीपूर्ण खेलमा जित निकालेको थियो। पहिलो हाफको खेल १–१ को बराबरीमा रोकिएको अवस्थामा भारतले दोस्रो हाफम २ गोल थपेको थियो।
क्षेत्रीले ३५ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। तर, त्यसको एक मिनेटपछि नै स्ट्राइकर लाबोराभीले गोल फर्काउदै पहिलो हाफमा भारतको सम्भावित अग्रतालाई रोके।
भारतले दोस्रो हाफको खेल सुरु भएको ४ मिनेटमै पुनः अग्रता बनायो, जब जेजे लापेकहलुवाले ४९ मिनेटमा अर्को गोल थपे। त्यसको ४ मिनेटपछि सन्देश जिङ्गानले भारतका लागि तेस्रो गोलगरे। यी दुवै खेलाडी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
कम्बोडियाबाट ६२ मिनेटमा चेन भाथानाकाले दोस्रो गोल गरे। भारतले अनास इडाथोडिका र मिलन सिंहलाई डेब्युको मौका दिएको थियो।