लेस्टर सिटीका स्ट्राइकर जामी भर्डीले क्लबका पूर्व अध्यक्ष क्लाउडियो रेनेरीलाई हटाउन आफ्नो भूमिका अहम रहेको भन्दै आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आउन थालेको बताएका छन्।
उनले यो घटनाले आफू र परिवारमा क्रासको माहौल रहेको बताउँदै आफूले रेनेरीलाई हटाउन कुनै भूमिका नखेलेको स्पष्ट पार्न चाहेका छन्। ३० वर्षीय स्ट्राइकरले प्रशिक्षक हटाउने विषय क्लब व्यवस्थापनको भएको जानकारी दिँदै भने–‘म माथि लागेको आरोप निराधार हो। आरोपमा कुनै सत्यता छैन।’
लेस्टरले गत सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जिताएका रेनेरीलाई ऐतिहासिक उपलब्धीको ९ महिनापछि गत फेब्रुअरीमा निलम्बन गर्ने निर्णय गरेको थियो। रेनेरीलाई हटाउदा क्लबले यो सिजन खस्कँदो प्रदर्शनलाई आधार मानेको थियो। गत सिजन उपाधि जितेको लेस्टर १७ औं स्थानमा रहँदै रेलिगेशन क्षेत्रमा पुगेको थियो।
रेनेरीको स्थानमा हाल क्रेग सेक्सपियरले प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन्। सेक्सपियरले खेलाडीको बचाउँमा आफ्नो अभिव्यक्ति दिइसकेका छन्। उनले रेनेरीलाई हटाउने विषयमा खेलाडीको भूमिका नरहेको स्पष्टीकरण दिएका थिए।
च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियासँग पराजय भोगेको खेलपछि भर्डीले क्लब व्यवस्थापनसँग बसेर रेनेरीलाई हटाउन गोप्य छलफल गरेको आरोप लागेको थियो।
भर्डीले आफू डोपिङविरुद्धको कुरालाई लिएर ३ घण्टा छलफलमा बसेको तर अखबारमा रेनेरीलाई हटाउन आफूले गोप्यवार्ता गरेको समाचार आएकोमा दुःख व्यक्त गरे।
‘म एन्टी–डोपिङको विषयलाई लिएर बसेको थियो। तर, रेनेरीलाई हटाउन गोप्य बैठकमा बसेको कुरा जसरी बाहिर आयो, सबैले यसलाई पत्याए। अहिले म, मेरो परिवार र केटाकेटीलाई ज्यान मार्ने धम्की आइरहेको छ,’ भर्डीले निरास हुँदै भने।