चैत्राष्टमी पर्वको अवसर पारेर यहाँ अन्तर कलेज स्तरीय ‘चैत्राष्टमी कप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
यही चैत १६ गतेदेखि स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु हुने प्रतियोगितामा १५ समूह सहभागी हुनेछन्। चैत्राष्टमी मेला व्यवस्थापन समितिको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई नगद ४० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
उपविजेता समूहले नगद २० हजारसहित पदक र प्रमाणपत्र पाउने समितिका मूल संयोजक राजु खड्काले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।
स्थानीय फ्युचर स्पोर्टस् क्लब र बागलुङ खेलकुद क्लबसँग सहकार्य गरी प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । प्रतियोगिता आयोजना गर्न पाँच लाख १५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । चैत्राष्टमी पर्वको अवसरमा बागलुङमा बर्सेनि चैत्राष्टमी मेला लाग्ने गरेको छ । रासस