रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा १९ गोल गरिसकेका छन्। उनी यो सिजन पनि म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन्। यस्तै, बार्सिलोनाका आफ्ना प्रतिद्वन्दी लिओनल मेसीको २३ र लुइस सुआरेजको २१ गोलपछि उनी ला लिगामा गोल गर्ने सन्दर्भमा तेस्रो नम्बरमा पर्छन्।
राती एथलेटिको बिलबाओविरुद्धको खेलमा उनले गोलका लागि दुवै अवसर मिलाएका थिए। तर पनि प्रशिक्षक जिनेदिन जिदानले उनलाई ७९ मिनेटमा बाहिर निकाल्दै मिडफिल्डर इस्कोलाई मैदानमा छिराए।
जिदानको यो निर्णयमा रोनाल्डो त्यति खुसी देखिएनन्। मैदानबाट बाहिर निस्किदा उनी केही संकोचित र हतास देखिएका थिए। उनले राम्रोसँग इस्कोको अनुहार पनि हेरेनन्।
रातीको खेलमा रातो कार्डबाट २ खेलमा प्रतिबन्ध झेलेका गारेथ बेल पनि फर्किएका थिए। जिदानले पहिलो हाफमा रोनाल्डो, बेल र बेन्जेमाको रुपमा तीनजना स्ट्राइकरलाई मैदानमा प्रवेश गराएका थिए।
रोनाल्डो स्पेनिस लिगमा सर्वाधिक महंगा खेलाडी मानिन्छन्। उनको साताको कमाइँ नै ३ लाख ६५ हजार पाउन्ड छ। उनले रियल म्याड्रिडका लागि कीर्तिमानी ३ सय ९० गोल गरिसकेका छन्।
४ पल्ट बालोन डि’ओरको उपाधि जितिसकेका र ११ वर्षदेखि हरेक सिजन २० भन्दा बढि गोल गर्दै आएका रोनाल्डोले यो सिजन क्लबबाट जति महत्व पाउनु पर्ने हो, त्यो पाएका छैनन्। त्यसैले बेलाबेलामा उनको बिरोध र समर्थन दुवै स्वर सुनिदै आएको छ।