भारत र अस्ट्रेलियाबीचको ४ टेस्टको शृंखलाअन्तर्गत अघिल्लो दुई टेस्ट १–१ को बराबरीमा टुँगिएको अवस्थामा आजदेखि झारखण्डको राचीमा सुरु हुने तेस्रो टेस्ट दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण देखिन्छ।
यी दुई देशबीचको तेस्रो टेस्ट यस कारण पनि महत्वपूर्ण मानिएको छ, राचीमा पहिलो पल्ट टेस्टको आयोजना हुँदैछ। राची भारतीय टेस्ट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको घरेलु मैदान हो। र, भारत पहिलो पल्ट बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध यो मैदानमा खेल्दैछ।
पूणेको पहिलो टेस्टको पीचलाई रेफ्रिले खराब घोषणा गरेको र बेङ्लुरुको दोस्रो टेस्टको पीचलाई क्रिस ब्राडले आशिंक खराब भनेको अवस्थामा आजदेखि सुरु हुने तेस्रो टेस्टमा पनि सबैको आँखा पीचमा नै गएर अडिने पक्का छ।
५ दिन लामो खेलका क्रममा राचीको पीचले कस्तो हर्कत गर्ने हो, यो अहिले सबैका लागि चासोको विषय बनेको छ। केही दिन अगाडि परेको पानीका कारण पीच ओसिलो देखिएको र पाँच दिनसम्म पीच नटुँट्ने विश्वास क्युरेटरको छ।
यस पीचमा पनि स्पिनरले मद्धत पाउने विश्लेषकको दावी छ। अस्ट्रेलियाविरुद्धको शृंखलाभन्दा अगाडि तीन वटा टेस्टमा लगातार ६ सयभन्दा बढि रन बनाएको भारतले त्यो लयलाई अहिलेसम्म समात्न सकेको छैन्। भारतका कुनै ब्याट्सम्यानले सतक बनाउन सकेका छैनन्। ३ अर्धसतक बनाउने लोकेश राहुल भारतीय टिमका सर्वाधिक रनकर्ता हुन्। कप्तान विराट कोहलीले ४ इनिङमा मात्र ४० रन बनाएका छन्। उनले यसअघि ९ टेस्टमा १ हजार ४ सय ५७ रन बनाएका थिए। पूणेमा पराजय भोग्नुअघि भारतले लगातार १९ टेस्टमा जित हात पारेको थियो।
बेङ्लुरुमा चेतेश्वर पुजारा र अजिङ्क रहाणेले पाँचौ विकेटका लागि १ सय १८ रन बनाएर भारतलाई जिततर्फ डोर्याएका थिए। जुन भारतको यो शृंखलामा अहिलेसम्मको एक मात्र सतकीय साझेदारी हो। काँधको चोटबाट फर्किएका मुरली विजयले तेस्रो टेस्टमा अविनभ मुकुन्दको स्थानमा प्रारम्भिक ब्याटिङ गर्ने सम्भावना बलियो छ।
चोटका कारण अस्ट्रेलियाले आफ्नो स्टार बलर मिशेल स्टार्कलाई गुमाइसकेको छ। उनको स्थानमा सन् २०११ पछि पेट कमिन्स टोलीमा फर्किने सम्भावना प्रबल मानिन्छ। कमिन्स दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो शृंखलापछि टिममा पर्न असफल थिए। अस्ट्रेलियाले उनी अथवा ज्याक्सन बर्डमध्ये एकलाई स्थान दिने पक्का छ।
अस्ट्रेलियाले काँधको चोटका कारण अलराउन्डर मिशेल मार्सलाई पनि गुमाइसकेको छ। उनको स्थानमा ग्लेन म्याक्सवेलको सम्भावना बलियो छ। सन् २०१४ मा अबुधावीमा टेस्ट खेलेपछि म्याक्सवेल टिमबाट बाहिर छन्। उनको अतिरिक्त एस्टन एगर र मार्कस स्टोइनिसको सम्भावना पनि प्रबल मानिन्छ। दोस्रो टेस्टको पहिलो इनिङमा ८ विकेट लिएका नाथन लायनको औलामा पनि सामान्य चोट लागेको बताइएको छ। यसबाहेक उनको विषयमा कुनै जानकारी बाहिर आएको छैन्। त्यसैले नाथनको स्थानमा लेग स्पिनर मिशेल स्विपसनलाई अस्ट्रेलियाले तयारी अवस्थामा राखेको छ।