बार्सिलोनाका डिफेन्डर गेरार्ड पिकेले गत सोमबार रियल म्याड्रिडले भिलारियाललाई ३–२ ले पराजित गरेको खेलमा रेफ्रिको विवादास्पद भूमिका महत्वपूर्ण भएको बताएका छन्। उनको यो बयानपछि रियल म्याड्रिडका डिफेन्डर सर्गियो रामोस भड्किएका छन् र उनले पिकेलाई आफ्नो काममा ध्यान दिन सल्लाह दिएका छन्।
स्पेनका लागि फुटबल खेल्ने यी दुवै डिफेन्डरको मौखिक जुगलबन्दी पछि ला लिगाको यस सिजनको उपाधिलाई लिएर रोचक बहस सुरु भएको छ।
दुई दिनअघि एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गर्न जहाँ पिकेले बार्सिलोनाको तर्फबाट महत्वपूर्ण प्रदर्शन गरेका थिए, त्यहीँ भिलारियाललाई ३–२ ले पराजित गर्न रामोसको भूमिका पनि महत्वपूर्ण थियो।
म्याड्रिड दोस्रो हाफको ११ मिनेटमा २ गोलले पछाडि परेको अवस्थामा खेलमा फर्किएको थियो। पिकेले दोस्रो गोलका लागि म्याड्रिडलाई पेनाल्टीको अवसर प्रदान गर्ने रेफ्रिको भूमिका प्रति प्रश्न उठाएका थिए। त्यही पेनाल्टीलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए।
पिकेले पेनाल्टीको अवसरले म्याड्रिडलाई फाइदा पुगेको भन्दै सामाजिक संजालमा लेखेका छन्– रेफ्रिको गल्ती बार्सिलोनाको विपक्षमा थियो र म्याड्रिडलाई फाइदा पुर्यायो।‘त्यही टिमविरूद्ध, आठ अंक,’ उनले लेखेका छन्, रेफ्रिको निर्णयप्रति प्रश्न उठाउँदै।
म्याड्रिड र भिलारियालविरूद्धको खेलमा जुन रेफ्रिले खेल खेलाएका थिए, उनले नै म्याड्रिड र बार्सिलोनाको खेल पनि सञ्चालन गरेका थिए। त्यतिबेला डिबक्सभित्र रामोसले बार्सिलोनाका खेलाडीलाई तानेर अवरोध तुल्याएको र हेडिङमार्फत गोल गरेको भिडियो फुटेज पछि सार्वजनिक भएको थियो।
लगातार तेस्रो पल्ट ला लिगा उपाधिको योजनामा रहेको बार्सिलोना म्याड्रिडभन्दा एक अंकले मात्र पछाडि छ। र, २४ चरणको खेलका लागि म्याड्रिडले सेल्टा भिगोविरूद्ध एक खेल खेल्न बाँकी छ। रोमोसले बोलिरहने स्वभावका पिकेबाट आएको यस्तो प्रतिक्रियालाई स्वभाविक भनेका छन्। ‘म त्यतिबेला आश्चर्यमा पर्ने थिए यदि यो प्रतिक्रिया (लिओनल) मेसीबाट आएको भएँ,’ रामोसले भने, ‘तर, पिकेबाट आयो। हामी सबै उनलाई चिन्छौं, उनको भनाईलाई हामीले महत्व दिएका छैनौ। हामी आफ्नो काममा लागेका छौ, जुन सबै खेल जितेर उपाधि जित्नु हुनेछ।’
पिकेले स्पेनमा रेफ्रिसँग निरासा जनाएको यो नै पहिलो घटना होइन। गत महिना भिलारियालविरूद्धको खेलमा रेफ्रिले बार्सिलोनालाई पेनाल्टीको अवसर प्रदान नगरेपछि उनले भिआइपी बक्सतर्फ औला देखाएका थिए। उनी अफिसियलहरूलाई गाली गर्दै बाहिर निस्किएका थिए। उनी यतिबेला स्पेनिस लिगका अध्यक्ष जाभियर टाबेससँग अत्याधिक रिसाएका थिए।
पिकेले कोपा डेल रेअन्तर्गत एट्लेटिको बिलबाओसँग पराजित खेलमा रेफ्रिको निर्णयप्रति प्रश्न उठाएका थिए।सोमबार बिहानको खेलमा भिलारियालका मिडफिल्डर ब्रुनो सोरिनोका हातमा डिबक्स भित्र बलले लागेको थियो। उनले त्यो बल हातले रोक्न प्रत्यक्ष आफू संलग्न नभएको बताउँदै रेफ्रिको निर्णयप्रति कटाक्ष गरेका थिए, ‘म आफ्नो कुमलाई त काट्न सक्दिन नी।’
भिलारियालका अध्यक्ष फर्नान्डो रोइजले रेफ्रिहरूले खेलभन्दा अगाडि रियल म्याड्रिडबाट उपहारस्वरूप लिएको ‘ब्याग’ तर्फ प्रश्न उठाएका थिए। म्याड्रिडलगायत केही क्लबले स्पेनिस लिगमा खेल सुरु हुनुभन्दा अगाडि क्लबको लोगो भएको साँचो झुन्ड्याउने, पिन्स र पेनसहितको झोला रेफ्रिहरूलाई प्रदान गर्दै आइरहेका छन्। सोमबारको खेलमा पनि म्याड्रिडले अफिसियललाई उपहारको ‘ब्याग’ प्रदान गरेको थियो।
‘रेफ्रि फेयर बन्न सक्नु पर्छ,’ रामोसले भने। म्याड्रिड २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जित्ने अभियानमा छ।