अस्ट्रेलियाविरूद्धको पहिलो टेस्टमा भारत १ सय ५ रनमा समेटिएको छ। भारतका ७ ब्याट्सम्यान ११ रन जोड्ने क्रममा आउट भए। यो २७ वर्षपछि भारतको सबैभन्दा खराब प्रदर्शन हो।
सन् १९९० को क्राइसचर्च टेस्टमा न्युजिल्यान्डले अन्तिम १८ रनमा भारतको ७ विकेट झारेको थियो।
अस्ट्रेलियाका बाँया हाते अर्थोडक्स स्पिनर स्टिभ ओ’किफेले १९ बलमा ५ विकेट लिएपछि भारतको अवस्था दयनीय बनेको हो। किफेले १३ दशमलव १ ओभरमा २ मेडन राख्दै ३५ रन खर्चेर ६ विकेट लिएका थिए।
किफेले बलिङ गर्नुअघि भारत ९४ रनमा ३ को बलियो स्थितिमा थियो। तर, त्यसपछि भारतको इनिङ ध्वस्त बन्यो। पहिलो इनिङमा अस्ट्रेलियाले अप्रत्यासित रुपमा १ सय ५५ रनको अग्रता कायम राखेको छ।