भारतीय कप्तान विराट कोहली १ सय ४ इनिङपछि पहिलो पल्ट ‘डक’ भएका छन्। अस्ट्रेलियाविरूद्ध पूणेमा जारी पहिलो टेस्टको शुक्रबार दोस्रो दिन पहिलो इनिङको सुरुवात गर्न आएको भारतलाई गम्भीर धक्का लागेको छ। पहिलो इनिङमा अस्ट्रेलिया २ सय ६० रनमा समेटिएपछि भारतले ब्याटिङ सुरु गरेको थियो।
जोस हेजलउडले भारतका प्रारम्भिक ब्याट्सम्यान मुरली विजयलाई १० रनमा पवेलियन फर्काएपछि चेतेश्वर पुजारा ब्याटिङका लागि आएका थिए। उनलाई मिचेल स्टार्कले ६ रनमा आउट गरेपछि कप्तान कोहली ब्याटिङका लागि क्रिजमा प्रवेश गरेका थिए। उनलाई पनि स्टार्कले आफ्नो दोस्रो बलको शिकार बनाए।
कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४ इनिङपछि शुन्यमा आउट भएका हुन्। अन्तिम पल्ट उनी २०१४ मा कार्डिफमा एकदिवसीय क्रिकेटको क्रममा शुन्यमा आउट भएका थिए। भारतले ४४ रनको अवस्थामा तीन विकेट गुमाइसकेको छ।