इङ्लिस क्लब टोटेनहाम हटस्पोरको एक दशकपछि युरोपको महत्वपूर्ण प्रतियोगिता जित्ने अभियानमा एक पल्ट फेरि बेल्जियम क्लब जेन्ट तगारो बन्न पुगेको छ।
शुक्रबार बिहान विम्बलेमा भएको युरोपा लिगको समूह–३२ को दोस्रो लेगको खेलमा पनि टोटेनहामलाई जेन्टले २–२ गोलमा रोकेको छ। यो नतिजापछि दुवै लेगको खेलमा ३–२ गोलले पछि पर्दै टोटेनहाम प्रतियोगिताबाट बाहिरिएको छ।
८० हजारभन्दा माथिको घरेलु समर्थकमाझ खेलिएको यो खेलमा टोटेनहामले दुईवटा ठूलो गल्ती गर्यो, जसको मूल्य अन्त्यमा चुकाउनु पर्यो। टोटेनहामका स्ट्राइकर हयारी कानले २० मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा फर्किने मौका दिएका थिए। टोटेनहामले १० मिनेटमा क्रिस्चियन इरिक्नको गोलमा अग्रता बनाइसकेको थियो।
घरेलु इङ्लिस टोलीको लागि सबैभन्दा ठूलो धक्का त्यतिबेला लाग्यो, जब डाले अली ३९ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यसपछि दोस्रो हाफको पुरै खेल टोटेनहामले १० खेलाडीमा सिमित रहेर खेल्नु पर्यो।
यद्यपी भिक्टर वानीयामाले ६१ मिनेटमा पुनः गोल गर्दै टोटेनहामलाई खेलमा फर्काएका थिए। तर, ८२ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका जेरेमी पर्वेटले पुनः गोल गर्दै जेन्टलाई खेलमा फर्काए।
६ वर्षअघि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको टोटेनहामका लागि शुक्रबार बिहानको नतिजा स्तब्ध पार्ने खालको थियो।