बुटवलमा बिहीबारबाट मोफसलको सर्वाधिक धनराशी भएको तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ। एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा सुरु भएको आजको उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लब एपिएफ काठमाडौंले विजयी सुरुवात गरेको छ।
पाहुना टोली शेरे एफसि क्यालिङपोङलाई एक शुन्यले हराउँदै एपिएफले विजयी सुरुवात गरेको हो। पहिलो हाफको २१ औं मिनेटमा सरोज कोइरालाले हेडिङ मार्फत आकर्षण गोल गर्दै एपिएफका लागि अग्रता दिलाएका थिए।
प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ। विभागीय टिमसहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५÷१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रयोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।
प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो २ बजे नेपाल आर्मी क्लव काठमाडौं र सिक्किम युनाईटेड सिक्किमका बीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दिर्घबहादुर कसीले जानकारी दिए।