म्यानचेस्टर युनाइटेडका कीर्तिमानी इङ्लिस स्ट्राइकर वायने रोनी पनि अन्ततः चिनियाँ क्लबमा अनुबन्धित हुने सम्भावना बढेर गएको छ।
पछिल्लो समय म्यानचेस्टरमा भूमिकाविहिन बन्न पुगेका रोनीका लागि क्लब छान्न उनका एजेन्ट पाउल स्ट्रेटफोर्ड अहिले चीन पुगेका छन्। उनले इङ्ल्याण्ड र म्यानचेस्टरका लागि सर्वाधिक गोल गर्ने ३१ वर्षीय रोनीका लागि चिनियाँ क्लबसँग वार्ता गरिरहेका छन्।
चिनियाँ ट्रान्सफर विन्डो २८ फेब्रुअरीमा समाप्त हुँदैछ। यसबीचमा रोनीको चिनियाँ क्लबमा सम्भावित स्थानान्तरणको सम्भावना पुष्टी गर्ने अवस्था छैन्। तर, बेलायती अखबारले श्रोतलाई उधृत गर्दै यसै महिना रोनीले म्यानचेस्टर छाड्ने दावी गरेका छन्।
प्रशिक्षक जोसे माउरिन्होले रोनीलाई क्लब छोड्न संकेत गरेपछि एजेन्ट स्ट्रेटफोर्ड क्लब खोज्न चीनतर्फ लागेको बताइएको छ।
इङ्लिस कप्तानप्रति केही समय अगाडि चिनियाँ सुपर लिग क्लबले चासो देखाएको थियो। तर, क्लबको नाम गोप्य राखिएको छ। यसअघि चिनियाँ राष्ट्रपति झी समर्थक रहेको बेइजिङ गुआनले रोनीलाई अनुबन्धित गर्न सक्ने बताइएको थियो। तर, क्लबले बिबिसीलाई केही समयअगाडि रोनीप्रति चासो नरहेको स्पष्ट पारेको थियो।
चिनियाँ फुटबल संघले विदेशी खेलाडी अनुबन्धप्रति केही समय अगाडि नयाँ कानुन बनाएपछि रोनीको अनुबन्धमा जियाङसु सुनिङ र तियानजिन क्विनजिन क्लबको सम्भावना रहेको बताइन्छ।
तियानजिनको प्रशिक्षक पूर्व इटालियन खेलाडी फाबियो कानाभारो हुन्। उनले सम्झौताको विषयमा सुधार नभएको बताएका छन्।
म्यानचेस्टरमा पछिल्लो समय जसरी उनी बेन्चमा बसिरहेका छन्, यसले उनको अन्तर्राष्ट्रिय खेल जीवनमा पनि असर पार्ने देखिन्छ। रोनी इङ्ल्यान्डको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बन्न सात खेलबाट पछि छन्।
रोनी सन् २०१९ सम्म म्यानचेस्टर मै बस्न चाहन्थे। १८ वर्षको उमेरमा २००४ मा उनी इभर्टनबाट २ करोड ७० लाख स्टर्लिङ पाउण्डमा म्यानचेस्टर आएका थिए। यसअवधिमा उनले पाँच प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग जितेका छन्। गत डिसेम्बरदेखि उनी म्यानचेस्टरको तीन खेलमा मात्र देखिएका छन्।
उनले म्यानचेस्टर र इभर्टनबाहेक अन्य कुनै इङ्लिस क्लबबाट नखेल्ने बताउदै आइरहेका छन्।