थङ्रासु नटराजन, के तपाईले यसअघि यो क्रिकेट खेलाडीको नाम सुन्नु भएको थियो? सायद थिएन होला। सुनेपनि धेरै कमले मात्र उनको नाम सुनेका छन्, होला।
यीनै नटराजन अब इण्डियन प्रिमियर लिग(आइपिएल) मा आफ्नो बलिङको जादु देखाउन उत्रिँदैछन्। तमिलनाडुका यी खेलाडीलाई किङ्स इलेभेन पञ्जावले आइपिएलको दसौं संस्करणमा ३ करोड भारुमा किनेको छ।
यसपालि भारतीय क्रिकेटका थुप्रै हस्तिहरूले क्लब नभेटाएको अवस्थामा उनका लागि पञ्जावले तीन करोड खर्च गरेको हो। उनको सुरुको आधार मूल्य १० लाख थियो। तर, जब उनको नाम खरिदको सूचीमा आयो, वीरेन्द्र सेहवागले पञ्जावका लागि उनलाई तीन करोड रुपैयाँ खर्चिने अवगत गराए।
नटराजनलाई क्रिकेटर बन्न धेरै मेहनत गर्नु पर्यो। उनको पारिवारीक अवस्था त्यति राम्रो छैन्। त्यसैले उनले राम्रो ठाउँमा ट्रेनिङ गर्न पाएका थिएनन्। नटराजनका बुबा फ्याक्ट्रीमा मजदुरी गर्थे। आमा चियाको पसल सञ्चालन गर्छिन्।
सानोमा नटराजन चिया पसलमा आफ्नो आमालाई सघाउँथे। परिवारको कमजोर आर्थिक अवस्थालाई सघाउन उनी पत्रिका र दुध बेच्थे। तर, पनि आफ्नो सपना पुरा गर्न उनी क्रिकेटका लागि समय निकाल्थे।
नटराजन पहिले टेनिस बलले क्रिकेट खेल्थे। टेनिस बलको क्रिकेट खेलमा उनी बलिङका लागि निकै चर्चित छन्। १८ वर्षको उमेरपछि मात्र उनले लेदरको बलले खेल्न सुरु गरेका हुन्।
नटराजन क्रिकेट खेलाडी बन्ने अभियानका लागि २०११–१२ मा तमिलनाडुबाट चिन्नई आएका थिए। उनी योर्कर बल फ्याँक्न माहिर मानिन्छन्।
सन् २०१५ मा उनी तमिलनाडुको रणजी ट्रफी टोलीमा समावेश भएका थिए। उनले बंगालविरूद्ध रणजीमा डेब्यु गरेका थिए। उनले आफ्नो डेब्युमा तीन विकेट लिए। तर, उनको बलिङ एक्सनलाई लिएर विवाद उठ्यो। र, उनले करिब एक वर्ष क्रिकेटबाट बाहिर बस्नु पर्यो।
पछि प्रशिक्षकको सल्लाहले आफ्नो एक्सनमा सुधार गरेपछि उनी तमिलनाडु प्रिमियर लिगमा समावेश भए। उनले ७ खेलमा १० विकेट लिएपछि पुनः रणजी टोलीमा फर्किएका थिए। उनी २१ महिनापछि रणजीमा फर्किएका थिए। नटराजले ९ प्रथम श्रेणी क्रिकेटमा २७ विकेट लिइसकेका छन्। टि–२० को ५ खेलमा उनको नाममा ४ विकेट छ।