लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीले बंगलादेशको चित्तागोङमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको दोस्रो खेलमा अफगानिस्तानी टिम सहिन अस्मायीसँग पराजित भएको छ।
समूह बीमा रहेको मनाङले आफ्नो दोस्रो खेलमा सहिन अस्यामीसँग ३-१ ले पराजित भएको हो।
स्वदेशमा लगातार तीन उपाधि (खप्तड, आहा–रारा, झापा गोल्डकप) जितेपछि बंगलादेश पुगेको मनाङले शेख कमल कपको पहिलो खेलमा ढाकाको मोहमडन स्पोर्टिङलाई २–० ले हराएको थियो।
डिफेन्डिङ च्याम्पियन तथा आयोजक चित्तागोङ अबहानीसँग ३–१ ले हारेको अफगान च्याम्पियन सहिनले आजको जीतसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
मनाङसँग आज पराजित भएको भए सहिनको चुनौती समूह चरणमै समाप्त हुने थियो।
मनाङले अब समूह ‘बी’ को अन्तिम खेलमा शुक्रबार बलियो मानिएको चित्तागोङ अबहानीको सामना गर्दै छ ।