अर्जेन्टिनाका प्रशिक्षक इडगार्डो बाउजाले लेगानेसविरूद्धको खेलमा निर्णायक गोल गरेपनि लिओनल मेसीले जितको खुसी नमनाएको दावी गरेका छन्।
उनले च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मनी(पिएसजी) बाट ४–० को पराजयपछि मेसीको खेल माथि उठाइएको प्रश्नलाई लिएर उनी बेखुसी रहेको स्पष्ट पारे। बाउजाले विश्वस्त हुँदै अर्जेन्टिनाको रेडियो जोगा बोनिटोलाई अन्तर्वार्ता दिने क्रममा भने–‘ऊ ज्यादै रिसाएको थियो। सायद आफूमाथि उठेको आलोचनाको जवाफ दिन उसले यस्तो गरेको हुन सक्छ।’
मेसीले ९० मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि आइतबार ला लिगाको खेलमा बार्सिलोनाले अन्तिम मिनेटमा २–१ को जित सम्भव पारेको थियो। दुवै गोल मेसीले गरेका थिए। तर, उनले मैदानमा साथीहरूसँग गोलको खुसी मनाएको देखिएन।
लेगानेससँगको जितपछि बार्सिलोनाले अंक तालिकामा रियल म्याड्रिडलाई एक अंकले पछ्याइरहेको छ। म्याड्रिडले दुई खेल बार्सिलोनाभन्दा कम खेलेको छ।