दक्षिण कोरियाली स्ट्राइकर सन हुङ मिनले खेल सकिनुभन्दा १३ मिनेटअघि गरेको गोलका कारण टोटेनहामले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा २–२ गोलले रोकेको छ।
सुरुवातमा दुई गोलले पछि परेको टोटेनहामले डाले अलीको ५८ र मिनको ७७ मिनेटको गोलका कारण खेललाई बराबरीमा राखेको थियो। सिटीसँग उसैको मैदानमा अंक बाडेपछि लिभरपुललाई एक अंकले पछि छाड्दै टोटेनहाम लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सी २१ खेलमा ५२ अंकका साथ शीर्ष स्थानमा छ। २२ खेल खेलेको टोटेनहाम ४६ र लिभरपुलले ४५ अंक जोडेको छ।
टोटेनहामसँग अंक बाँडेपछि पेप ग्वार्डिओलाको सिटी ४३ अंक बटुलेर आर्सनलभन्दा एक अंकले पछि रहँदै पाँचौ स्थानमा यथावत रहयो।
शनिवार राती भएको खेलमा फ्रेन्च गोलरक्षक ह्युगो लोरिसको दुई वटा गल्तीका कारण दोस्रो हाफको ९ मिनेटभित्रै टोटेनहामले दुई गोल खाएको थियो। खेलको ४९ मिनेटमा लेरोए सानेको गोलका कारण सिटीले
अग्रता बनाएको थियो। अर्को गोल ५४ मिनेटमा रहीम स्टर्लिङको क्रसमा केभिन डि ब्रोयनले गरे।
सिटीले सन् २०१४ मा ब्रुनलेसँग दुई गोलको अग्रता लिएर पनि खेल बराबरीमा राख्न बाध्य भएको थियो। तीन वर्षपछि यही खेलको पुनरावृत्ति भयो।