सन् २००० को युथ–१९ विश्वकप श्रीलंकामा खेलेर फर्किएपछि नेपाली टिमका प्रारम्भिक ब्याट्सम्यान किरण अग्रवालले मसँग भनेका थिए, ‘हैट दाजु! भारतीय टिममा एउटा खेलाडी बबालै छ। त्यो चाँडै राष्ट्रिय टोलीमा आउँछ। लामो रेसको घोडा हो।’
नभन्दै, युथ–१९ विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनलाई त्यही वर्ष भारतले राष्ट्रिय टोलीमा स्थान दियो। तर, नेपाली क्रिकेटमा देखा परेको चरम राजनीतिका कारण किरणले त्यही वर्ष नेपाली क्रिकेटलाई बाईबाई गरे।
किरणले सन् २००० मा युनाइटेड अरब इमिरेट्स(युएई)मा आयोजना भएको तेस्रो एसिसी ट्रफीमा जापानविरूद्ध अविजित ५५ र माल्दिभ्सविरूद्ध ९१ रनको ‘ब्याक टु ब्याक’ अर्धसतकीय इनिङ खेले। यसैका कारण नेपाल सेमिफाइनल प्रवेश गर्यो। उनले माल्दिभ्सविरूद्ध बनाएको ९१ रन तीन वर्ष नेपाली ब्याट्सम्यानको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च व्यक्तिगत योगफल बन्यो।
उनले १७ वर्षअघि मलाई भनेका ती भारतीय खेलाडी थिए, युवराज सिंह। जसले सन् २००० को युथ–१९ विश्वकपको ८ खेलमा २ सय ३ रन बनाउनुको साथै १२ विकेट लिएका थिए। जसका कारण उनलाई प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ घोषणा गरिएको थियो।
युथ विश्वकपको सुपर लिगमा पहिलो पटक प्रवेश गरेको नेपाललाई त्यो खेलमा पराजित गर्न युवराज एक्लैले ४ विकेट लिएका थिए। जसमा २१ रन बनाएर खेलिरहेका किरणलाई युवराजले नै मिडविकेटमा श्रीवास्तवद्वारा क्याच आउट गराएका थिए। युवराजले त्यो खेलमा ९ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिएका थिए। जुन उनको युथ क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
त्यो खेलमा भारतले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो। बर्षाका कारण ४४ ओभर मात्र सम्भव भएको खेलमा युवराजकै बलिङका कारण नेपाल १ सय १ रनमा खुम्चिएको थियो। प्रत्युत्तरमा कप्तान मोहम्मद कैफको ५७ रनको अर्धशतकीय इनिङका कारण भारत २५ दशमलव २ ओभरमै विजयी भयो। त्यतिबेला छिटै लक्ष्य पछ्याएको भारतका लागि युवराज सिंहले खासै ब्याटिङ गर्न पाएनन्। उनी ७ बलमा एक चौकाको सहयोगले ७ रन बनाउँदै अविजित रहे।
तर, उनको खेल्ने शैली र मैदानमा जस्तोसुकै ‘शट’ लगाउन सक्ने खुबीबाट प्रभावित किरणले अन्यासै मलाई युवराज सिंहको बारेमा भनेका रहेनछन्– ‘उनी लामो रेसका घोडा हुन्।’सन् २००० मा आयोजना भएको आइसिसी नकआउट ट्रफीमा युवराजले केन्याविरूद्ध एकदिवसीयमा ‘डेब्यु’ गरे। उनको खेल त्यतिबेलादेखि पछ्याउने क्रिकेट पारखी धेरै छन्, नेपालमा। यसमा म पनि पर्छु।
युवराज सिंहको खेल जीवन कुनै किंवदन्तीभन्दा कम छैन। उनी एक वा दुई पटक होइन, सात पटक भारतीय टिमबाट ‘ड्रप’ भए। तर, सातै पटक उनले उत्कृष्ट पुनरागमन गरेका छन्।
इङ्ल्यान्डविरूद्ध हाल चलिरहेको एकदिवसीय शृंखला यसैको अर्को संस्करण मात्र हो। उनी तीन वर्षको लामो अन्तरालपछि भारतीय टिममा फर्किए। र, उनले इङ्ल्यान्डविरूद्ध कटकमा बिस्फोटक १ सय ५० रन बनाए। यो इनिङपछि उनको छवि भारतीय क्रिकेटमा ‘वास्तविक हिरो’ को बन्न पुगेको छ।
भारतीय क्रिकेट टोलीबाट एक पटक बाहिरिएपछि पुनरागमन गर्न असम्भव मानिन्छ। व्यस्त अन्तर्राष्ट्रिय खेल तालिका र इण्डियन प्रिमियर लिगबाट उदाएका अनगिन्ति प्रतिभाका कारण अहिले भारतीय टिमबाट एकपटक कसैको पत्ता काटिनु भनेको ऊ पुनः टोलीमा फर्किएर नआउनु हो।
यस्तो प्रतिकूल अवस्थामा पनि तीन वर्षपछि टिममा फर्किनु कुनै चमत्कारभन्दा कम होइन। सन् २०१५ को विश्वकपका लागि छनोट गरिएको प्रारम्भिक ३० खेलाडीको सूचीमा पाँच सिनियर खेलाडीसँगै आफ्नो नाम समावेश नगरिएपछि युवराज निकै दुःखी थिए। त्यतिबेलै उनले संकल्प गरेका थिए, पुनः भारतीय टिममा फर्केर सबैलाई देखाउनेछु।
यसका लागि ३५ वर्षको उमेरमा पनि उनले निकै मेहनत गरे। यसपालिको घरेलु रणजी ट्रफीमा पञ्जाबबाट ५ खेल खेल्दै उनले ६ सय ७२ रन बनाएका थिए। जसमा बरौडाविरूद्ध बनाएको २ सय ६० रनका कारण उनलाई एकदिवसीय टिममा स्थान बनाउन छनोट समितिले पनि रोक्न सकेन।
युवराज कसैको थिचोमिचो मन पराउँदैनन्। उनलाई कसैले थोपरेको निर्णय पनि मन पर्दैन। उनको चर्चा अन्तर्राष्ट्रिय रुपमा त्यतिबेला भएको थियो, जब सन् २००३ मा इङ्ल्यान्डको योर्कसायर क्लबले सचिन तेन्दुलकरपछि उनलाई दोस्रो भारतीय क्रिकेटरको रूपमा क्लब भित्र्यायो।
युवराज टि–२० क्रिकेटको सबैभन्दा ठूलो ‘इन्टरटेनर’ मानिन्छन्। उनले २००७ को टि–२० विश्वकपको पहिलो संस्करणमै इङ्ल्यान्डका तीव्र्र बलर स्टुआर्ट ब्रोडको ६ बलमा ६ छक्का प्रहार गरेका थिए। अझ, विश्व क्रिकेटका सर्वाधिक खतरनाक बलर अस्ट्रेलियाका ब्रेट लीको बलमा प्रतियोगिताकै सबैभन्दा लामो १ सय १९ मिटरको छक्का हानेपछि उनको ब्याटिङमा वाहवाही नगर्ने कोही थिएनन्।
उनको उत्कृष्ट प्रदर्शनका कारण भारतले पहिलो संस्करणको टि–२० विश्वकप जितेको थियो। यतिबेला भारतीय क्रिकेट बोर्डले सबै खेलाडीलाई बोनसस्वरुप ८० लाख दिएको थियो। तर, युवराजलाई उनको उत्कृष्ट खेलका लागि १ करोड प्रदान गरेको थियो।
युवराजले २८ वर्षपछि भारतलाई एकदिवसीय क्रिकेटको विश्वकप जिताउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २०११ को विश्वकपमा आफ्नो स्वास्थ्यको चिन्ता नगरी उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरे। चार खेलमा ‘म्यान अफ दि म्याच’ भएका युवराजले त्यतिबेलादेखि नै आफ्नो स्वासप्रश्वासमा समस्या महसुस गरिसकेका थिए। तर, उनले तबसम्म यो कुरा टिमका अन्य सदस्यसँग लुकाएर राखे, जबसम्म भारतले घरेलु मैदानमा विश्वकप जितेन। उनले यही विश्वकपमा ३ सयभन्दा बढी रन र १५ विकेट लिने इतिहास बनाए। विश्वकपको ‘म्यान अफ दि सिरिज’ नै चुनिए।
लगत्तै उनको दायाँ घाँटीमा क्यान्सर देखियो। सन् २०१२ मा उनको अमेरिकाको बोस्टन र इन्डियानापोलिसमा तीन चरणको किमोथेरापी भयो। यसपछि स्वास्थ्य लाभ गरेका युवराज पाँच महिना भित्रै सन् २०१२ को टि–२० विश्वकप खेल्न पुनः भारतीय टिममा फर्किए। यो घटना आफैंमा अद्भूत र अविश्वसनीय थियो।
युवराज एकदिवसीय क्रिकेटमा २६ पल्ट ‘म्यान अफ दि म्याच’ भइसकेको छन्। उनी टेस्टभन्दा पनि एकदिवसीय र टि–२० को विशेषज्ञ ब्याट्सम्यान मानिन्छन्। एकदिवसीयमा उनको उत्कृष्ट पुनरागमनबाट लोभिएका उनका पूर्व सहयात्री वीरेन्द्र सेहवाग बिहीबार इङ्ल्यान्डविरूद्धको खेलमा भन्दै थिए, ‘मैले आफ्नो खेल जीवनमा कहिल्यै कल्पना गरेको थिइन– म कमेन्ट्री गरिरहेको हुनेछु र युवराज भारतका लागि ब्याटिङ गरिरहेका हुनेछन्।’
वास्तवमै यो नेपाली क्रिकेटका लागि पनि अनौठो कुरा थियो। उनीसँग युथ विश्वकप खेलेका नेपाली खेलाडी अग्रवाल अहिले धरानमा व्यापार–व्यवसाय गरेर बसेका छन्। भारतविरूद्ध त्यो खेलमा सर्वाधिक २९ रन बनाएका सन्दीप श्रेष्ठ यति एयरलाइन्समा काम गर्छन्। पारस लुनिया विराटनगरमा व्यवसाय गरेर बसेका छन्। कप्तान विनोद दास प्रशिक्षक बनेर नेपाली खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। युनिल श्रेष्ठ खेलाडीको कदर नहुने देश भएका कारण रोजगारीका लागि लामो समयदेखि साउदी अरेबियाको रियादमा छन्।