भारतले कटकमा भएको दोस्रो एकदिवसीयमा पनि इङ्ल्यान्डलाई १५ रनले पराजित गरेको छ। तीन एकदिवसीयको दोस्रो खेल पनि जितेपछि भारतले शृंखला २–० ले जितेको छ। भारतले पूणेमा भएको पहिलो खेल पनि जितेको थियो।
भारतले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान इयान मोर्गनले सतक बनाए पनि दुर्भाग्यपूर्ण रुपमा ‘नन स्ट्राइकर’ इन्डमा रन आउट हुन पुगेपछि इङ्ल्यान्डको हातबाट खेल फुस्किएको थियो। एकदिवसीयमा उनको नवौं सतक थियो।
१ सय २ रन बनाएर क्रिजमा हुँदासम्म इङ्ल्यान्डको सम्भावना बलियो थियो। तर, उनलाई जसप्रित भुमराले ४८ ओभरको तेस्रो बलमा ‘नन स्ट्राइकिङ’ इन्डबाट रन लिने चक्करमा रन आउट गराएका थिए। उनकै बलमा प्लुङ्केटले लामो प्रहार गर्न खोजेका थिए। तर, त्यस बललाई क्रिजमा समातेका भुमराले ‘नन स्ट्राइकिङ’ इन्डबाट रन लिन दौडिसकेका मोर्गनलाई रन आउट गराएपछि इङ्ल्यान्डले खेल गुमाएको थियो।
इङ्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय ६६ रन बनायो। यसअघि जासोन रोयले ८२, जोए रुटले ५४ र मध्यक्रममा मोइन अलीले ५५ रन बनाए।
यसअघि टस हारेर पहिलो ब्याटिङ गर्न उत्रिएको भारतले ६ विकेटको क्षतिमा ३ सय ८१ रन बनाएको थियो। भारतले पाँच ओभरमै २५ को योगफलमा केएल राहुल, शिखर धवन र कप्तान विराट कोहलीलाई गुमाइसकेको थियो।
तर, अन्त्यमा इङ्ल्यान्डलाई एकदिवसीयमा दोस्रो ठूलो लक्ष्य दियो। यसअघि इङ्ल्यान्डलाई सन् २००८ मा राजकोटमा भारतले ५ विकेटको क्षतिमा ३ सय ८७ रनको लक्ष्य दिएको थियो। जसमा पनि भारत विजयी भएको थियो।
युवराज सिंह र पूर्व कप्तान महेन्द्रसिंह धोनीले चौथो विकेटका लागि २ सय ५६ रनको साझेदारी गरेपछि भारत विशाल योगफलतर्फ अग्रसर भएको हो।
भारतका लागि युवराज र धोनीले सतक बनाए। युवराजले ६ वर्षपछि एकदिवसीयमा सतक बनाउने क्रममा १ सय ५० रन बनाए। उनको एकदिवसीयमा यो चौधौं सतक थियो। उनले १ सय २१ बल खेल्ने क्रममा एकदिवसीयमा आफ्नो उच्च व्यक्तिगत योगफल बनाए।
यस्तै, धोनीले दुई साताअघि एकदिवसीयको कप्तानी छोडेपछि पहिलो सतक पुरा गर्ने क्रममा १ सय ३४ रन बनाए। उनको एकदिवसीयमा यो दसौं सतक थियो।