सशस्त्र प्रहरीको एपीएफ क्लब पहिलो पल्ट १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार लिगको पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ १३ खेलबाट ३६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको हो।
रेश्मा भण्डारी ‘वुमन अफ द म्याच’ बनेको खेलमा एपीएफले आयोजकलाई २५–११, २५–१० र २५–८ ले पाखा लगायो। रिड मोडल र न्यु डायमन्डबीचको खेल खराब प्रकाशका कारण रद्द भएपछि दुई खेल बढी खेलेको एपीएफ शीर्ष स्थान उभिएको हो।
दोस्रो स्थानमा झरेको रिड मोडलको ११ खेलबाट ३३ अंक छ। न्यु डायमन्डले तेस्रो स्थानमा रहँदै १२ खेलबाट ३० अंक जोडेको छ। दोस्रो खेल रद्द भए पनि पहिलो खेलमा भने न्यु डायमन्ड विजयी भएको छ। न्यु डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो। न्यु डायमन्डकी कप्तान ललिता नाथ ‘वुमन अफ द म्याच’ बनेको खेलमा न्यु डायमन्ड आर्मीमाथि २५–२२, २५–११ र २५–७ को सेटमा हाबी भयो।
लिगको चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हराउँदै ३ अंक थप्यो। मनिषा चौधरीको उत्कृष्ट प्रदर्शनमा पुलिसले पश्चिमाञ्चललाई २६–२४, २१–२५, २५–१६ र २५–२३ को सेटमा पराजित गर्यो।
पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पश्चिमाञ्चलकी अरुणा शाहीले ‘वुमन अफ द डे’ को उपाधि जितिन्। उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ।
जारी लिगमा पुलिस १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा छ भने पश्चिमाञ्चल १३ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा छ। त्यसैगरी विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १३ खेलबाट ८ अंकमा सीमित भएको छ।