१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो चरणमा रिड मोडल कलेजले विभागीय टोली एपिएफसँग समान अंक बनाएको छ। तर, एपिएफभन्दा रिड मोडलले एक खेल कम खेलेकोले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ।
बुधबार भएको खेलमा जित हासिल गर्दै रिड मोडलले ३३ अंक बनाएको हो भने एक खेल बढी खेलेको एपिएफले १२ खेलबाट ३३ अंक बनाएको छ।
रिड मोडलले बुधबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। क्रिन्जल वुमन अफ द म्याच भएको खेलमा रिड मोडलले पुलिसलाई २५–६, २५–१८ र २५–९ को सेटमा पाखा लगायो।
त्यस्तै एपिएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई पनि ३–० कै सेटमा पाखा लगायो। चन्द्रा राना वुमन अफ द म्याच भएको खेलमा एपिएफले आर्मीलाई २५–१०, २५–१५ र २५–२३ ले निरास बनायो।
लिगको तेस्रो स्थानमा रहेको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हरायो। न्यु डायमन्डकी सेटर कृपा अधिकारी वुमन अफ द म्याचको उत्कृष्ट प्रदर्शनले पश्चिमाञ्चललाई २५–२०, २३–२५, २५–२० र २५–१५ को सेटमा हरायो।
त्यसैगरी बुधबारको आफ्नो दोस्रो खेलमा भने पुलिसले बाजी मारेको छ। पुलिसकी विमला कठायतको उत्कृष्ट प्रदर्शनमा आयोजक ढोरपाटनलाई २५–१२, २५–१७ र २५–१३ को सेटमा निरास बनायो।
दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी कमला पुनले वुमन अफ द डेको उपाधि जितिन्। उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ।
जारी लिगमा न्यु डायमन्डको ११ खेलबाट २७ अंक भएको छ भने पुलिसले १२ खेलबाट २१ अंक जोडेको छ। त्यसैगरी पश्चिमाञ्चल १२ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ।
विभागीय टोली आर्मीले १२ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १२ खेलबाट ८ अंकमा सीमित भएको छ।