इङ्ल्यान्डले भारतीय कप्तान विराट कोहलीलाई रोक्न नयाँ हतियारको रुपमा ‘सर्ट बल’ को प्रयोग गर्ने भएको छ। भारत भ्रमणमा विराट इङ्लिस बलरको पिटाई गर्दै आइरहेका छन्। त्यसैले उनलाई रोक्न दोस्रो एकदिवसीयमा इङ्ल्यान्डले ‘सर्ट पिच’ बललाई अत्याधिक प्रयोग गर्ने बताएको छ।
भारत र इङ्ल्यान्डबीचको दोस्रो एकदिवसीय बिहीबार कटकमा हुँदैछ। इङ्ल्यान्डका तीव्र बलर ज्याक बलले कोहलीलाई रोक्न ‘सर्ट’ बलको अभ्यास गरिरहेका छन्।
उनले बिबिसीको रेडियो फाइभलाई दिएको लाइभ अन्तर्वार्तामा भनेका छन्, ‘डे–नाइट म्याचमा बल तीब्र गतिमा निस्कन्छ। यस्तोमा सर्ट बलको प्रयोग बढी गर्न सकिन्छ। तर, यसमा पनि मिश्रणको जरुरी पर्छ। हामीले विराटलाई लयमा आउन दिनु हुँदैन। जसका कारण उनले हावामा बल खेलून्।’
विराटले पूर्णको पहिलो एकदिवसीयमा असम्भव मानिएको ३ सय ५१ रनको लक्ष्य पछ्याउन १ सय २२ रन बनाएका थिए।