सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलो पल्ट आरोप लाग्यो– विराट खेलभन्दा बढी आफ्नो गर्लफ्रेण्ड बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्।
त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको शृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सबै इनिङमा उनको उच्च योगफल थियो-३९ रन।
इङ्ल्यान्ड भ्रमणमा ‘फल्प’ भएपछि विराट आफ्नो खेल जीवनलाई लिएर निकै चिन्तित थिए। त्यसैले उनले घर फर्किने वित्तिकै सर्वप्रथम भेट गरेका थिए, भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरसँग। यही सचिनले विराटलाई मैदानभित्र मात्र होइन, मैदान बाहिरबाट पनि आउने दबाबलाई कसरी निस्तेज पार्ने? यसको गुरूमन्त्र सिकाएका थिए।
त्यो घटनाको दुई वर्षपछि अहिले विराट उत्कृष्ट लयमा छन्। उनले एलेस्टर कुकको इङ्लिस टोलीलाई ३–० ले टेस्ट शृंखलामा हराउन अविस्मरणीय ब्याटिङ गरे। आफ्नो कप्तानीमा पहिले वेष्ट-इन्डिजलाई उसैको मैदानमा चार टेस्टको शृंखलामा २–० ले हराउन उनले उत्कृष्ट प्रदर्शन गरे। त्यसपछि भारतीय भ्रमणमा आएको न्युजिल्यान्डविरूद्ध ३–० ले टेस्ट शृंखला क्लिनस्वीप गर्न अविस्मरणीय ब्याटिङ गरे।
विराटले यी तीन वटै शृंखलामा दोहोरो सतक (वेष्ट इन्डिज २००, न्युजिल्यान्ड २११, इङ्ल्यान्ड २३५) बनाउदै नसोचेको इनिङ खेले।
सन् २०१६ को एउटै क्यालेन्डर वर्षमा टेस्ट क्रिकेटमा एक हजार रन पुरा गरेका विराट अहिले टेस्ट र एकदिवसीय दुवैमा विश्व नम्बर २ ब्याट्सम्यान छन्। उनको यही प्रदर्शनका कारण भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सन् २०१७ को सुरुवातमा महेन्द्रसिंह धोनीको स्थानमा उनलाई क्रिकेटको तीन वटै फरम्याट (टेस्ट, एकदिवसीय र टी–२०) को कप्तान नियुक्त गर्यो।
विराटले गत सोमबार आफ्नो कप्तानीमा पूणेमा इङ्ल्यान्डलाई पहिलो एकदिवसीय क्रिकेटमा हराउन जुन शैलीको ब्याटिङ गरे, त्यसको अहिले सर्वत्र प्रसंसा भइरहेको छ। अझ, केही विश्लेषकले त उनलाई सचिन तेन्दुलकरभन्दा धेरै अगाडि पुग्ने दाबीसमेत गरेका छन्। यी विश्लेषकको दावी कति हदसम्म सत्य सावित हुने हो? यो भविष्यले बताउने छ।
तर, पूणे एकदिवसीयमा फसिसकेको खेललाई विजयतर्फ डोर्याउन उनले बनाएको १ सय २२ रन कुनै करिश्माभन्दा कम थिएन्। यही इनिङका कारण विराटले लक्ष्यलाई पछ्याउने क्रममा सर्वाधिक १७ सतक पुरा गर्ने आफ्ना अग्रज तेन्दुलकरको कीर्तिमानलाई बराबरी गरेका छन्। अझ, रन पछ्याउँदा सतक बनाएर देशलाई जिताउने मामिलामा उनले तेन्दुलकरलाई पनि पछि छाडेका छन्। सचिनको १४ सतकको सहयोगले भारतले लक्ष्य चुमेको थियो। यो कीर्तिमानलाई उछिन्दै विराटले १५ सतकको कीर्तिमान बनाएका छन्।
विगत केही वर्ष यता विराटले एकपछि अर्को गर्दै एकदिवसीयमा सचिनको कीर्तिमान भंग गर्दै गइरहेका छन्। त्यसैले धेरैलाई लागेको हुनुपर्छ, विराटले सचिनजति नै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको खण्डमा पक्कै ‘मास्टर ब्लास्टर’ को कीर्तिमान भंग गर्नेछन्?
विराट आधुनिक क्रिकेटलाई प्रतिनिधित्व गर्छन्। उनी आधुनिक क्रिकेटमा भित्रिएको नयाँ ‘टेक्नोलोजी’ सँग अभ्यस्त छन्। उनी ‘मिडअन’ माथिबाट छक्का प्रहार गर्न रुचाउँछन्। कभर ड्राइभ र कडा फ्लिक उनको अर्को विशेषता हो। अझ, डे–नाइट क्रिकेटमा उनको विशेषज्ञता झल्किन्छ।
क्रिकेटमा भित्रिएको नयाँ र नौलो प्रयोगसँगै जसरी क्रिकेट ब्याट्सम्यानका लागि उपयोगी बन्दै गइरहेको छ, यसलाई हेर्दा विराटले सचिनको पुरानो कीर्तिमानलाई भंग नगर्लान् भन्न सकिन्नँ।
सचिनले क्रिकेट खेल्दा ३ सय रन पुरा गर्ने टिम विजयी घोषित हुन्थ्यो। तर, अहिले ३० यार्ड सर्कलको नियम, ब्याटिङ पावरप्ले, दुवै इण्डबाट नयाँ बलको प्रयोग जस्ता नयाँ नियमले गर्दा ३ सय ५० भन्दा बढी रन पनि जितका लागि अपुग हुन थालिसकेको छ। यस्तो अवस्थामा क्रिकेटमा प्रयोग हुन थालेको ‘फ्लाट र ड्रप इन पिच’ का कारण ब्याट्सम्यानतर्फ ढल्किदै गइरहेको क्रिकेटमा फाइदा विराटलाई नै पुग्ने धेरैको बुझाई छ।
तर, यति हुँदा पनि २ सय टेस्ट र ४ सय ६३ वान डे गरी कूल ६ सय ६३ अन्तर्राष्ट्रिय खेलमा सचिनले बनाएको करिब ३४ हजार ३ सय ४७ रन र सय सतकको पहाड छिचोल्न विराटलाई फलामको चिउरा चपाए सरह कडा परिश्रम गर्नु पर्ने पक्का छ।
विराटले ५३ टेस्टमा ५० भन्दा माथिको औसतले ४ हजार २ सय ९ रन बनाएका छन्। जसमा १५ सतक रहेको छ। यस्तै, उनले १ सय ७७ एकदिवसीयमा ५३ भन्दा माथिको औसतले ७ हजार ६ सय ९२ रन पुरा गरिसकेका छन्। एकदिवसीयमा उनको सतक संख्या २७ हो।
सचिनलाई एकदिवसीयमा २७ सतक पुरा गर्न २ सय ६१ एकदिवसीय खेल्नु परेको थियो। जसका लागि उनले ११ वर्ष कुरेका थिए। तर, यसको अनुपातमा विराटले ८ वर्षमै २७ सतक पुरा गरेका हुन्। एकदिवसीयमा सात हजार रन र २५ सतक छिटो पुरा गर्ने कीर्तिमान पनि विराटको नाममा छ।
सचिनको नाममा प्रत्येक ९ खेलमा सतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा सतक बनाएका छन्। धेरै विश्लेषकको बुझाई छ, बदलिदो क्रिकेटको नियमका कारण विराटलाई सचिनको कीर्तिमान भंग गर्न उनी जति नै २२ वर्ष अनवरत क्रिकेट खेल्ने आवश्यकता छैन। विराटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा जुन किसिमको ‘क्लास’ देखाएका छन्, यसले पनि उनलाई सचिनको कीर्तिमान भंग गर्न सहयोग पुर्याउने धेरैको दावी छ।
त्यसैले कुनै बेला अस्ट्रेलियाली क्रिकेटको ‘रिडको हड्डी’ मानिने बिस्फोटक ब्याट्सम्यान एड्म गिलकृष्टले भर्खरै एउटा भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘विराट नयाँ जमानाका ब्याट्सम्यान हुन्। उनी विपक्षीलाई (आउट) अवसर पनि दिन्छन्। तर, जहाँ चुक हुन्छ। उनले खेललाई तुरुन्त अर्को मोडमा लैजान्छन्।’
एजेन्सीको सहयोगमा