पोखरा रंगशालामा मंगलबारदेखि सुरू हुने १५ औं आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम ११बीच पहिलो खेल हुने आयोजक साहारा क्लबले सार्वजनिक गरेको तालिकामा छ।
उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारको लागि प्रतिश्पर्धा गर्ने छ । त्यसै गरी माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबबीच प्रतिश्पर्धा हुनेछ। सो खेलको विजेताले माघ ९ गते मनाङ मर्स्याङ्दीको सामना गर्नेछ। त्यस्तै माघ ६ गते अमेरिकी टिम र झापा ११ बीच प्रतिश्पर्धा हुनेछ। सो खेलको विजेताले माघ १० गते सेमिफाइनल प्रवेशका लागि आर्मी क्लबसँग खेल्नेछ।
प्रतियोगिताको अन्तिम प्री क्वाटरफाइनलमा माघ ७ गते संकटा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। सो खेलको विजेताले माघ ११ गते बंगलादेशी टिमसँग प्रतिश्पर्धा गर्नेछ। खेल तालिका अनुसार युनाइटेड सिक्किम, बंगलादेशी क्लब , आर्मी क्लब र मनाङ मर्स्याङ्दी बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन्।
प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागीय टिमसहित १२ टिमको सहभागिता छ।
प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ। विजेताले पाँच लाख एक हजार एक नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। उपविजेतलाई दुई लाख ५१ हजार एक रूपैया नगद पुरस्कार प्राप्त गर्नेछन्।