रियल म्याड्रिड र सेभिलविरूद्ध ला लिगाको आइतबार सम्पन्न खेल त्यतिबेला तनावपूर्ण बन्यो, जब दुई साताको अन्तरालमा तेस्रो पल्ट भिडिरहेका यी क्लबमध्ये रियल म्याड्रिडले दोस्रो हाफमा पेनाल्टीको अवसर पायो र त्यो पेनाल्टी प्रहार गर्न क्रिस्टियानो रोनाल्डो डिबक्स भित्र प्रवेश गरे।
रोनाल्डो पेनाल्टी हान्न ठिक्क परिरहेको बेला सेभिलका भिटोलोले सबैभन्दा अगाडि निहुँ खोजे। उनले पेनाल्टीका लागि तयार पारिएको चिन्ह र घाँसलाई हिर्काए। उनको यो व्यवहारबाट भड्किएका रोनाल्डोले भिटोलोतर्फ बल फ्याँक्दै गाली गरेका थिए। यद्धपी आफ्नो रिस सम्हाल्न नसकेका रोनाल्डोले ६७ मिनेटमा पेनाल्टीबाट गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए।
तर, म्याड्रिडले त्यसलाई निरन्तर राख्न सकेन्। अन्ततः २–१ ले खेल गुमायो। ८५ मिनेटमा सर्जियो रामोसले आत्मघाती गोल गरेपछि म्याड्रिड ओरालो लागेको थियो। निर्धारित ९० मिनेटपछि थप गरिएको तेस्रो मिनेटमा स्टेभन जोभेटिकले गोल गरेपछि सेभिलले म्याड्रिडको ४० खेलको अपराजित यात्रालाई पूर्णविराम लगायो। जितसँगै सेभिल एक अंकले मात्र म्याड्रिडभन्दा पछाडि छ।