जेमी भर्डीको ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन लिसेस्टर सिटीले म्यानचेस्टर सिटीमाथि शानदार जित दर्ता गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिसेस्टरले उपाधिको होडमा रहेको सिटीलाई ४–२ ले हराएको हो।
लिसेस्टरलाई जिताउने भर्डीले ३, २० र ७८ औं मिनेटमा गरी ह्याट्रिक पूरा गरे। यस्तै एण्डी किङले पनि एक गोल गरे। पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीका लागि एलेकसान्डर कोलारोव र नोलिटोले एक एक गोल गरे।
जितसँगै लिसेस्टरले पाँच खेलदेखिको लिगमा जित बिहीन यात्रा टुंग्याएको छ। १५ खेलबाट १६ अंकसहित लिसेस्टर अंक तालिकाको १४ औं स्थानमा छ। यस्तै शीर्ष स्थानको आर्सनल भन्दा चार अंकले पछि परेको म्यानचेस्टर सिटी ३० अंक सहित चौथो स्थानमा छ।