ब्राजिलका स्टार स्ट्राइकर नेइमारले यस वर्ष बालोन डि’ओर उपाधि आफ्नो क्लबका सहयात्री पाँच पल्टको विजेता लिओनल मेसीले पाउने विश्वास व्यक्त गरेका छन्।
उनले उपाधिको दौडमा सबैभन्दा अगाडि मानिएका रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोभन्दा मेसी दावेदार रहेको बताए। गत सिजन म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेबापत रोनाल्डोलाई फ्रेन्च फुटबलको सर्वोत्कृष्ट अवार्डको दावेदारी मानिएको छ।
रोनाल्डोको कप्तानीमा पोर्चुगलले यसै वर्ष युरो कपको पनि उपाधि जितेको थियो। उनले गत सिजन म्याड्रिडका लागि ५१ गोल गरेका थिए। युरो कपमा पनि उनको नाममा तीन गोल छ। यति हुँदा हुँदै पनि नेइमारले स्पेनिस ‘ला लिगा’ को उपाधि कब्जा गर्न मेसीले गरेको योगदानका कारण आफ्नो मित्रलाई बालोन डि’ओरको उपाधि प्राप्त हुने दावी गरे।
‘मलाई थाहा छैन कसले जित्छ तर मेरो लागि सबैभन्दा उत्कृष्ट खेलाडी एक मात्र छन्, ती मेसी हुन्,’ नेइमारले गोल अनलाइनसँग भने। ‘रोनाल्डो महान खेलाडी हुन्। उनी विश्वस्तरका खेलाडी हुन् र लामो समयदेखि छन्। म उनको सम्मान गर्छु,’ नेइमारले भने–‘तर मेरो लागि मेसी उपाधिको हकदार हुन्।’
मेसीले यो सिजन २० गोल गरिसकेका छन्, जसमा ९ गोल ‘ला लिगा’ र १० गोल च्याम्पियन्स लिगमा छ। रोनाल्डोले यस सिजन ‘ला लिगा’ मा १० गोल गरेपनि च्याम्पियन्स लिगमा २ गोल मात्र गर्न सकेका छन्। बालोन डि’ओरको उपाधिको घोषणा अर्को साता हुँदैछ।