च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातीको खेलमा दक्षिण कोरियाली स्ट्राइकर सन हेयुङ–मिनको निर्णायक गोलका कारण इङ्लिस क्लब टोटेनहामले १–० ले सिएसके मस्कोलाई पराजित गरेको छ।
टोटेनहामका लागि पछिल्लो ५ खेलमा पाँचवटा गोल गरिसकेका सनको उत्कृष्ट प्रदर्शनका कारण इङ्लिस क्लबले च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत दर्ता गराएको हो। उनले इरिक लामेलाको पासमा ७१ मिनेटमा गोल गरेपछि टोटेनहामको खुसी मैदानमा पोखिएको थियो।
यसअघि मोनाकोविरूद्ध निरस खेल प्रस्तुत गरेको टोटेनहामका लागि सनले मंगलबार प्रभावशाली खेल देखाए। गत वर्ष मात्र इङ्लिस क्लबले २ करोड २० लाख पाउन्डमा जर्मनीको बायर लेभरकुसेन क्लबबाट उनलाई भित्र्याएको थियो। उनले पहिलो सिजन खासै राम्रो खेल खेल्न सकेका थिएनन्। उनले ४१ खेलमा ८ गोल मात्र गरेका थिए। तर, फर्किएको फर्मका कारण टोटेनहाम समूह ‘इ’ मा मोनाको पछि दोस्रो स्थानमा छ।